समाचार
स्याङ्जाबाट फरार कसूरदार पक्राउ
वालिङ, २५ मंसिर ।
स्याङ्जा जिल्ला प्रहरी कार्यालयले सम्मानित अदालतबाट मुद्दा फैसला भई जरिवाना भुक्तान गर्न बाँकी रहेका एक फरार कसूरदारलाई पक्राउ गरेको छ । न्यायिक कारवाहीलाई पूर्णता दिँदै सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताका लागि जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले मंसिर २४ गते जिल्ला स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. –१४ बस्ने बसन्ती पौडेल घिमिरेलाई पक्राउ गरेको हो । पक्राउ परेकी कसूरदारलाई जरिवाना असुलको लागि सम्मानित स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी सागर कार्कीका अनुसार पौडेल मानाचामल मुद्धाको कसुरदार हुन् ।