समाचार
गण्डकी लोकताराका लागि स्याङ्जाबाट बत्ती थापा छनोट
रेडियो आँधीखोला
वालिङ, २७ बैशाख ।
दोस्रो गण्डकी लोकतारा प्रतियोगिताका लागि स्याङ्जाबाट बत्ती थापा छनोट हुनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति स्याङ्जाले आयोजना गरेको जिल्ला स्तरीय अडिसनबाट थापा छनोट हुनुभएको हो ।
अडिसनमा जिल्लाका विभिन्न स्थानबाट ११ जनाको सहभागिता रहेको थियो । प्रतिस्पर्धामा सहभागी अन्य १० जनालाई पछि पार्दै थापाले गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा स्थान सुरक्षित गर्नुभएको हो ।
प्रतिष्ठान गण्डकी प्रदेशकी महिला सचिव सुनिता नेपालीका अनुसार दोस्रो गण्डकी लोकतारा प्रतियोगिता आगामी जेठ ९ गते पोखरामा आयोजना हुनेछ । प्रतियोगितामा गण्डकी प्रदेशका ९ जिल्लाबाट एक–एक जना सहभागी हुनेछन । मनाङ र मुस्ताङमा प्रतिष्ठानको कार्य समिति गठन नभएकाले ती जिल्लाबाट सहभागिता हुने सम्भावना कम रहेको जनाइएको छ ।
प्रतियोगिताका विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ, तृतीय हुनेले २२ हजार २ सय २२ रुपैयाँ तथा सान्त्वना स्थान हासिल गर्नेले ११ हजार १ सय ११ रुपैयाँसहित प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
यसपटक प्रतियोगितामा स्थान बनाउन नसक्ने अन्य पाँच प्रतिस्पर्धीलाई समेत नगद पुरस्कार प्रदान गरिने भएको छ । शेरबहादुर गुरुङ र उहांको श्रीमती विष्णुदेवी गुरुङले व्यक्तिगत रूपमा उक्त पुरस्कारको व्यवस्था गर्नुभएको हो । प्रतियोगितामा सहभागी प्रत्येकलाई ५÷५ हजार रुपैयाँ प्रदान गरिने बताइएको छ ।