समाचार
जडिबुटी प्रवद्र्धनमा वालिङको पहल ः १ हजार तुलसी रोपण
वालिङ, १० साउन ।
जडिबुटी प्रवद्र्धन, बाँझो जग्गाको सदुपयोग तथा स्थानीय स्तरमा आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले वालिङ नगरपालिकाले एक हजार तुलसीका बिरुवा रोपण गरेको छ । हरिशयनी एकादशीको अवसर पारेर वालिङ नगरपालिका–८ को कुमस्वाँरा क्षेत्रमा नगरपालिकाले तुलसीसँगै विभिन्न प्रजातिका जडिबुटी तथा वनस्पतिका बिरुवा रोपेको हो ।
वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेको नेतृत्वमा भएको रोपण कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी, पतञ्जली योग समिति वालिङ तथा गह्रौंकालिका आमा समूह कुमस्वाँराका प्रतिनिधिहरूको सहभागिता थियो ।
कार्यक्रममा उपप्रमुख गैह्रेले तुलसी धार्मिक दृष्टिले महत्वपूर्ण हुनुका साथै औषधीय गुणसमेत भएको जडिबुटी भएकाले हरिशयनी एकादशीको अवसरमा एक हजार तुलसी रोपण गरिएको बताउनुभयो । उहांले प्राकृतिक जडिबुटीको संरक्षण र प्रवद्र्धनसँगै खाली तथा बाँझो जग्गाको सदुपयोग गरी स्थानीयस्तरमै स्वरोजगार र आयआर्जनका अवसर सिर्जना गर्ने नगरपालिकाको लक्ष्य रहेको उल्लेख गर्नुभयो ।
वालिङ नगरपालिका–८ आचार्य बालकृष्णको जन्मस्थलसमेत भएकाले यस क्षेत्रलाई जडिबुटी उत्पादन र प्रवद्र्धनसँग जोडेर विशेष पहिचान स्थापित गर्ने योजना नगरपालिकाले अघि सारेको छ । आचार्य बालकृष्णको जन्मभूमिको प्रचारप्रसारसँगै पतञ्जलीसँगको समन्वयमा जडिबुटी खेती विस्तार गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको उपप्रमुख गैह्रेले बताउनुभयो ।
नगरपालिकाले जडिबुटी उत्पादनका लागि करिब १ सय ४१ रोपनी क्षेत्रफलको जग्गा १५ वर्षका लागि वार्षिक २ लाख रुपैयाँ भाडामा लिएको छ । सार्वजनिक तथा विभिन्न व्यक्तिका नाममा रहेका खाली जग्गालाई समेत समेटेर उक्त क्षेत्रलाई व्यवस्थित रूपमा उपयोग गर्ने योजना बनाइएको हो । सो क्षेत्रमा तुलसीलगायत विभिन्न प्रजातिका जडिबुटी रोपण गरी बोटानिकल गार्डेन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने नगरपालिकाको लक्ष्य छ ।
यसअघि नै सिउलीघान तथा घेराबार क्षेत्रमा काउछो, घोलटाप्रे लगायतका विभिन्न प्रजातिका जडिबुटी रोपण गरिसकिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र उपलब्ध जडिबुटी तथा वनस्पतिको पहिचान खुल्ने गरी व्यवस्थापन गर्दै लैजाने योजना पनि बनाइएको छ ।
नगरपालिकाले आफ्नै नर्सरीमा तयार गरिएका बिरुवा सर्वसाधारणले समेत लैजान सक्ने व्यवस्था गर्ने जनाएको छ । जडिबुटीको उत्पादन र बिक्रीवितरणका लागि नगरपालिकाले सहजीकरण गर्ने भएकाले बाँझो रहेका निजी तथा सार्वजनिक जग्गालाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न सकिने अपेक्षा गरिएको छ ।
उत्पादित जडिबुटी खरिद गर्ने तथा आवश्यक सहयोग उपलब्ध गराउने विषयमा पतञ्जलीसँग समन्वय र सहकार्यको समझदारीसमेत भइसकेको नगरपालिकाले जानकारी दिएको छ । यसबाट जडिबुटी खेतीमा संलग्न किसानलाई बजारको सुनिश्चितता हुने अपेक्षा गरिएको छ ।