समाचार
दशैँ विदामा पनि विद्यालय परिसरमै छन् प्रअ र विद्यार्थी
रेडियो आँधीखोला
वालिङ, ८ कार्तिक ।
यतिबेला दशैँको रौनकले देशभर दशैँ विदा चलिरहेको छ । तर स्याङ्जाको एक विद्यालयमा भने दशैँ विदामा पनि विद्यालयका प्रअ र विद्यार्थी विद्यालय परिसरमै देखिन्छन् । वालिङ १४ मा रहेको हिमसिखर आधारभुत विद्यालयका प्रअ मित्रलाल खनाल अहिले विद्यार्थीसंगै विद्यालयको करेसाबारीमा भेटिनुहुन्छ । विद्यालयको करेसाबारीमा टमाटर राताम्मे भएका छन् ।
काउली र बन्दागोपीले पनि उत्पादन दिने तयारीमा छन् । विद्यालयमा २०८० सालबाट एक विद्यालय एक करेसाबारी कार्यक्रम अन्र्तगत नगरपालिकाको १ लाख सहयोगमा यो कार्यको शुरुवात भएको विद्यालयका प्रधानाध्यापक मित्रलाल खनालले बताउनुभयो । प्रअ खनालले भन्नुभयो, ‘२०८० बाट शुरु गरिएको यो कार्यक्रम हालसम्म पनि विद्यालयले निरन्तरता दिएको छ । यसका लागि शिक्षक, विद्यार्थी र अभिभावकहरुको साथ र सहयोगको निकै ठूलो भुमिका रहेको छ ।’
विद्यालयले विद्यालय परिसरमै रहेको करिब ३ रोपनी जग्गामा टमाटर, काउली, बन्दागोपी, सिमि, केराउन लगाएको छ । टमाटरले फल दिईरहेका छन् भने काउली, बन्दा र सिमि फल दिने तयारीमा छन् । केराउ भने शनिबार मात्रै लगाईएको हो । शुक्रबार दशैँ विदाको समयमा पनि प्रअ खनालको नेतृत्वमा विद्यार्थीहरुको सहयोगमा टमाटर ट्प्निे, गोड्ने बजारीकरण गर्ने गरिएको प्रअ खनालले बताउनुभयो ।
टमाटर हाल ८० रुपैँया प्रतिकिलो विक्रि गरिसकिएको विद्यालयले जनाएको छ । दुईवटा टनेलमा रहेका ३५० विरुवाले फल दिईरहेका छन् । हालसम्म ६५ किलो विक्रि भईसकेको छ । विद्यालयले २०८० सालबाट करेसाबारी शुरु गरेको हो । सोहि वर्ष नगरपालिकाबाट १ लाख अनुदान प्राप्त गरेको थियो । उक्त वर्ष शुरुवाती वर्ष लगानी धेरै गर्नुपरेका कारण ४६ हजार बचत गर्न सफल भएको थियो भने २०८१ सालमा फेरि नगरपालिकाबाट १ लाख अनुदान पाएको थियो ।
उक्त वर्ष विद्यालयले ८० हजार बचत गरेको थियो भने २०८२ सालमा ७६ हजार बचत गरेको विद्यालयका प्रअ खनालले बताउनुभयो । करेसाबारीमा उत्पादन हुने तरकारीहरु दिवा खाजामा प्रयोग गर्ने र बाँकी विक्रि गर्ने गरिएको छ । विद्यालयको समयमा हप्ताको दुई पिरेड लिजर राखेर कक्षा ६, ७ र ८ का विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षा प्रदान गर्ने हेतूले करेसाबारीमा लगिन्छ ।
अन्य लिजर पिरेडमा पनि विद्यार्थीहरुले तरकारी टिप्ने, गे्रडिङ गर्ने, विरुवामा पानी राख्ने र गोडमेल गर्ने गर्छन भने अन्य भारी काममा लागि ज्यालामा कामदार लगाउने गरिएको प्रअ खनालले बताउनुभयो । विद्यालयले उक्त ३ रोपनी क्षेत्रफलमा सिजनअनुसारका तरकारी, आलु फलाउने गरेको छ । एक विद्यालय एक करेसाबारी कार्यक्रमले विद्यार्थीलाई प्रयोगात्मक सिकाई प्रदान गर्न सहज हुने प्रअ खनालले बताउनुभयो ।