समाचार
दशैँमा सेतीबेनी बजार सुनसान
रेडियो आँधीखोला
वालिङ, ९ कार्तिक ।
सधैँ चलनचल्तीको सेतीबेनी बजार यो पटकको दशैँमा सुनसान रह्यो । चाडपर्वका बेला व्यापारी र तीर्थालु भक्तजनको ठुलो भिड रहने सेतीबेनीमा यो पटक भने खासै चहलपहल थिएन । बजारमा राम्रोसँग हिँड्ने बाटोसमेत छैन ।
स्याङ्जा, गुल्मी र पर्वत तीन जिल्लाको सङ्गमस्थलको छुट्टै पहिचान छ । पुरानो बजार, कालीगण्डकी तटमा रहेको शालिग्राम शिला र विभिन्न ठाउँमा जानका लागि नाकाका रूपमा सेतीबेनी बजार प्रयोग हुँदै आएको थियो ।
गएको असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले बजारका घर तथा पसलमा ठुलो क्षति पु¥याएको छ । ५० भन्दा धेरै घरमा क्षति पु¥याएको बाढीले ३२ घरपरिवारलाई पूर्णरूपमा विस्थापित गरेको छ । जसका कारण यहाँको जनजीवन पूर्णरूपमा प्रभावित भएको छ भने व्यापार व्यवसाय ठप्प छ ।
गल्याङ नगरपालिका–५ का वडाध्यक्ष घनश्याम भट्टराईका अनुसार बाढीका कारण ३२ घर बस्नै नमिल्ने गरी क्षति भएका छन् ।
दसैँको मुखमा परिवारसँग बसेर चाडपर्व मनाउनुपर्ने समय भए पनि सेतीबेनीका बासिन्दाको समय घर तथा पसलमा भएको क्षतिको व्यवस्थापन गर्ने र बाँकी सामान सुरक्षित स्थानमा सार्ने काममै बितेको छ । बाढीले क्षति पु–याएको झन्डै एक महिना भएको छ तर क्षतिको पूरा विवरण अझै आएको छैन । क्षति विवरण सङ्कलन गर्न अझै केही दिन लाग्ने गल्याङ नगरपालिकाले जनाएको छ ।
बाढी प्रभावित व्यापारी रामप्रसाद न्यौपानेले दसैँमा मोबाइलको माग बढ्ने अपेक्षाले ठुलो मात्रामा मोबाइल पसलमा राखेको बताउनुभयो । यद्यपि उहाँले अपेक्षा गरे अनुसार व्यापार हुन सकेन ।
कालीगण्डकीको बाढीले बगाएपछि यहाँका व्यापारीका लागि पुनः व्यवसाय सुरु गर्नु ठुलो चुनौती बनेको छ । बाढीका कारण लाखौँको क्षति भएको मेडिकल व्यवसायी दीपक भण्डारीले बताउनुभयो । गाउँमै मेडिकल सञ्चालन गरेर एक्सरेसहितको सुविधा दिइरहनुभएका भण्डारीको औषधीसहित एक्सरे मेसिनमा समेत क्षति पुगेको छ ।
व्यापारीका अनुसार फेन्सी, कस्मेटिक, मेडिकल र मोबाइल पसललगायतमा गरी करोडौँ रुपियाँ बराबरको क्षति भएको छ । बाढी प्रभावित बासिन्दालाई तत्कालका लागि केही राहत तथा सहयोग उपलब्ध गराइए पनि सेतीबेनी बस्तीलाई कसरी सुरक्षित रूपमा पुनस्र्थापना गर्ने भन्ने विषयमा अझै टुङ्गो लाग्न सकेको छैन ।
जोखिमयुक्त बस्तीलाई पुरानै स्थानमा व्यवस्थित गर्ने कि अन्य सुरक्षित स्थानमा स्थानान्तरण गर्ने भन्नेबारे दीर्घकालीन योजना बनाउने काममा पालिका लागिरहेको नगरप्रमुख गुरुप्रसाद भट्टराईको भनाइ छ ।