समाचार
स्याङ्जाको मालेबगरमा भोलि नेपथ्यको ऐतिहासिक लाइभ कन्सर्ट, १० हजार दर्शक सहभागी हुने अपेक्षा
रेडियो आँधीखोला
वालिङ, ६ मंसिर ।
स्याङ्जाको पुतलीबजार नगरपालिकास्थित मालेबगर खेलमैदानमा आज आइतबार नेपालको चर्चित लोक–रक व्याण्ड ‘नेपथ्य’ को भव्य लाइभ कन्सर्ट हुने भएको छ । गीत–संगीतको माध्यमबाट मौलिक लोक संस्कृतिको संरक्षण, सामाजिक विकृति तथा विसंगतिको अन्त्य र दर्शकलाई स्वस्थ मनोरञ्जन प्रदान गर्ने उद्देश्यले स्याङ्जा जिल्लामै पहिलोपटक नेपथ्यको एकल लाइभ कन्सर्ट आयोजना गर्न लागिएको हो ।
आयोजक स्याङ्जा युवा क्लबका अनुसार कन्सर्टमा करिब १० हजार दर्शकको सहभागिता गराउने लक्ष्य राखिएको छ । कार्यक्रममा प्रवेशका लागि प्रतिटिकट १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । दर्शकको सहजताका लागि भौतिक टिकटसँगै नेपथ्यको आधिकारिक वेबसाइटमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
करिब ९४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उक्त बृहत् सांगीतिक प्रस्तुति अवलोकन गर्न स्याङ्जासहित छिमेकी जिल्लाहरू पर्वत, कास्की, पाल्पा, तनहुँलगायत आसपासका क्षेत्रबाट उल्लेख्य संख्यामा दर्शक आउने अपेक्षा गरिएको क्लबका अध्यक्ष बाबु थापाले जानकारी दिनुभयो । मञ्च व्यवस्थापन, ध्वनि प्रविधि, दर्शकको सहज प्रवेश तथा समग्र सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखेर तयारी पूरा गरिएको अध्यक्ष थापाले बताउनुभयो ।
सन् १९९० को दशकको सुरुवातमा पोखराबाट स्थापना भएको नेपथ्य व्याण्डका गायक तथा गीतकार अमृत गुरुङ रहनुभएको छ । कास्कीको पोखरा (पुम्दीभुम्दी) मा जन्मिएका गुरुङ विगत तीन दशकभन्दा लामो समयदेखि नेपाली लोक–रक संगीतको साधना र प्रवद्र्धनमा निरन्तर सक्रिय हुनुहुन्छ । नेपालका कुनाकन्दरा र ग्रामीण बस्तीहरूमा पैदल यात्रा गर्दै त्यहाँका मौलिक भाका, लय र जनजीवनका कथाहरूलाई संकलन गरी आधुनिक संगीतमा ढाल्ने उहाँको विशेष शैली छ ।