समाचार
नेपाल आदर्श क्याम्पस तथा माविमा डा. योगी विकासानन्दको प्रेरणादायी प्रवचन, जीवनोपयोगी सन्देशसहित कार्यक्रम सम्पन्न
रेडियो आँधीखोला
वालिङ, ६ मंसिर ।
स्याङ्जाको वालिङ नगरपालिका–८, भिमटारीस्थित नेपाल आदर्श क्याम्पस तथा माध्यमिक विद्यालयको प्रांगणमा भव्य तथा प्रेरणादायी प्रवचन कार्यक्रम सम्पन्न भएको छ । मनोक्रान्ति अभियानअन्तर्गत आयोजित ‘दोस्रो विश्व शान्ति ध्यानमय पदयात्रा’ को सन्दर्भ पारेर आयोजना गरिएको उक्त कार्यक्रममा जीवन रूपान्तरण, सकारात्मक सोच र आत्मजागरणसम्बन्धी विशेष प्रवचन दिइएको हो ।
कार्यक्रमका प्रमुख वक्ता तथा मनोक्रान्ति अभियन्ता डा. योगी विकासानन्दले विद्यार्थी, शिक्षक, अभिभावक तथा सहभागीहरूलाई जीवनलाई कसरी सकारात्मक, अनुशासित, सिर्जनशील र उद्देश्यपूर्ण बनाउने भन्ने विषयमा गहन तथा व्यवहारिक विचारहरू प्रस्तुत गर्नुभयो । विशेषगरी सकारात्मक सोच, आत्मविश्वास, आत्मअनुशासन, मानसिक सशक्तीकरण, व्यक्तित्व विकास तथा जीवनप्रतिको सही दृष्टिकोणबारे उहाँले राख्नुभएका विचारहरूले उपस्थित सम्पूर्ण सहभागीहरूलाई गहिरो रूपमा प्रभावित पारेको थियो ।
प्रवचनका क्रममा डा. योगीले संसारमा सकारात्मक परिवर्तन ल्याउन चाहने हो भने पहिले आफैँलाई बदल्नुपर्ने आवश्यकता औँल्याउनुभयो । हरेक व्यक्तिको मनभित्रै सुख र दुःख दुवैको बीउ रहने भएकाले वास्तविक सुख र शान्तिको खोजीमा बाहिर भौतारिनु नपर्ने उहाँको भनाइ थियो । नियमित योग, ध्यान र साधनाको अभ्यासबाट मनलाई शान्त, स्थिर र एकाग्र राख्न सकिने तथा त्यसैबाट दिगो सुख र शान्ति प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारीले भौतिक पूर्वाधारको निर्माणलाई मात्र वास्तविक विकास मान्न नहुने भन्दै मानव संसाधनको विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । विद्यालय तथा क्याम्पसस्तरमा आयोजना हुने यस्ता प्रेरणादायी तथा चेतनामूलक प्रवचनहरूले बालबालिका र युवापुस्तालाई गलत बाटोबाट जोगाई असल कर्म, अनुशासन र सामाजिक उत्तरदायित्वतर्फ लाग्न प्रेरित गर्ने उहाँको धारणा थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल तथा वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैह्रेको विशेष उपस्थिति रहेको थियो । अतिथिहरूले शैक्षिक संस्थाहरूमा हुने यस्ता सिर्जनात्मक तथा नैतिक जागरणका कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने उल्लेख गर्नुभयो ।
शिक्षा केवल पाठ्यपुस्तक र किताबी ज्ञानमा मात्र सीमित नभई जीवनलाई गहिराइमा बुझ्ने, आफूलाई चिन्ने, सही समयमा सही निर्णय लिने र असल चरित्र तथा व्यक्तित्व निर्माण गर्ने सशक्त माध्यम हो भन्ने सन्देश यस कार्यक्रमले अझ स्पष्ट पारेको छ ।
यस्ता ज्ञानवर्धक तथा प्रेरणादायी सत्रहरूले विद्यार्थीहरूमा सकारात्मक सोच, उच्च लक्ष्य, असल संस्कार र जीवनमा केही सार्थक र राम्रो गर्ने दृढ सङ्कल्प विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विद्यालयका प्रिन्सिपल होमकान्त गौतमले बताउनुभयो ।
मिराकल एजुकेशनल फाउण्डेसनका अध्यक्ष शंकर डुम्रेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रिन्सिपल होमकान्त गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहायक प्रिन्सिपल अर्जुन कँडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा वालिङ क्षेत्रका विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधि, समाजसेवी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।