अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Songs & Add

समाचार

सामुदायिक रेडियो आँधीखोलाले २०औँ वार्षिकोत्सव मनायो

news

 
रेडियो आँधीखोला
वालिङ, ७ मंसिर । 
२०६४ साल मङ्सिर ६ गते आजकै दिन आफ्नो ध्वनि तरंगित गरेको रेडियो आँधीखोला एफएमले आफ्नो २०औँ वार्शिकोत्सव मनाएको छ ।  आँधीखोला सञ्चार सहकारी संस्था लिमिटेड वालिङ–८ द्वारा सञ्चालित स्याङ्जा जिल्लाकै पहिलो सामुदायिक रेडियो ‘रेडियो आँधीखोला एफएम १०५.४ मेगाहर्ज’ आजदेखि २०औँ वर्षमा प्रवेश गरेको छ । वि.सं. २०६३ सालमा संस्था स्थापना भई २०६४ साल मङ्सिर ६ गतेदेखि नियमित प्रसारण सुरु गरेको यस रेडियोले दिप प्रज्वलन गरि आफ्नो वार्शिकोत्सव मनाएको हो । वार्शिकोत्सवका अवसरमा पूजापाठ सहित दिप प्रज्वलन गरिएको छ । 
जिल्लाको मध्यभाग वालिङ–८ घ्याङ्लिङमा स्टेसन रहेको रेडियोले स्थापनाकालदेखि नै समाजलाई सुसूचित गर्दै अनवरत रूपमा प्रशारण हुँदै आएको छ । ‘रेडियो २०औँ वर्षमा प्रवेश गर्नु हाम्रा लागि वार्षिकोत्सवको उत्सव मात्र होइन, समुदायप्रतिको उत्तरदायित्व, विश्वास र निरन्तर समर्पणको गौरवपूर्ण उपलब्धि पनि हो’ संस्थाका अध्यक्ष शान्ता थापाले भन्नुभयो ।
२०६२÷०६३ को जनआन्दोलनपछि स्थापना गरिएको रेडियो आजसम्म अनवरत रुपमा अगाडि बढ्नु कुनै एक व्यक्ति वा संस्थाको मात्र सफलता नभएको भन्दै यस यात्रामा सबैको उक्तिकै साथ र सहकार्य रहेको अध्यक्ष थापाले बताउनुभयो । रेडियो संस्थापकहरूको दूरदृष्टि, सञ्चालकहरू, लेखा संयोजक एंव सदस्यहरूको निरन्तर साथ कर्मचारी तथा सञ्चारकर्मीहरूको मेहनत, विज्ञापनदाता, शेयरधनी, श्रोता र सम्पूर्ण शुभेच्छुकहरूको विश्वास र योगदानले रेडियोलाई २०औँ वर्षसम्म ल्याउन सकिएको उहाँले बताउनुभयो । 
उहाँले भन्नुभयो, ‘रेडियोको वास्तविक शक्ति यसको प्रसारण क्षमतामा मात्र होइन, यसले समाज जगाउने, सामाजिक चेतना निर्माण गर्ने कार्य गरेको छ ।’ आगामी दिनमा पनि जनताको सुख, दुःख समाजका सम्भावना र चुनौतीसँग जोडिँदै सत्य, निष्पक्षता र जनहितलाई केन्द्रमा राखेर अघि बढ्ने अध्यक्ष थापाले बताउनुभयो । दिप प्रज्वनल तथा पूजापाठ कार्यक्रममा अध्यक्ष थापा, उपाध्यक्ष ताराप्रसाद श्रेष्ठ,  सचिव हिमलाल पराजुली, सदस्य हिमलाल विक, लोकनाथ अर्याल, टंक तिवारी, स्टेशन म्यानेजर तोलाकान्त बगालेलगायत कर्मचारीहरुका पनि सहभागिता रहेको थियो । 
२०६२÷०६३ को जनआन्दोलनपछि जिल्लामा स्थानीय सञ्चार माध्यमको आवश्यकता महसुस गरी यहाँका राजनीतिक दल, बुद्धिजीवी र समाजसेवीहरूको सामूहिक पहलमा रेडियो आँधीखोलाको स्थापना गरिएको हो । हाल ५०० वाट क्षमताबाट दैनिक १८ घण्टा प्रसारण भइरहेको यो रेडियो गण्डकी र लुम्बिनी प्रदेशका १८ जिल्लामा प्रत्यक्ष सुन्न सकिन्छ । यसका साथै रेडियोको आधिकारिक वेबसाइट www.radioaandhikhola.org  र हाम्रो पात्रो  एपमार्फत विश्वभरबाट प्रत्यक्ष सुन्न तथा स्थानीय, प्रादेशिक र राष्ट्रिय समाचारहरू पढ्न सकिने व्यवस्था छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...