समाचार
राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले बालबालिकाको पढाई र सीप विकासमा सुधार
असोज २८, २०७७ बुधबार काठमाण्डाै – पाँच वर्षअघि सुरु भएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले बालबालिकाको पढाइ र सीप विकासमा सुधार भएको पाइएको छ ।
विद्यार्थीको सिकाइमा केन्द्रित भई शिक्षाको गुणस्तर सुधार गर्ने उदेश्यले यो परियोजना सन् २०१८ देखि सुरु भएको थियो । २०७२ सालमा अमेरिकी सहायता नियोग यूएसएआईडी नेपालको प्राविधिक सहयोगमा १६ जिल्लाबाट सुरु गरिएको परियोजना अहिले तेस्रो चरणमा ३५ जिल्लामा विस्तार भएको छ ।
चौथो चरणमा ७७ वटै जिल्लामा विस्तार गर्ने परियोजनाको उद्यश्य छ । सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेको भन्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाले परियोजनाले बालबालिकाको पढाइ क्रियाकलापमा सहयोग गरेको पाउँदा खुशी लागेको बताउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले परियोजनाले उच्चशिक्षाका लागि दरिलो जग खडा गरेको भन्दै बालबालिका रमाउँदै पढ्दै गर्ने राम्रो अभ्यासको थालनी भएको बताउनुभयो । शिक्षामा कार्यरत नागरिक समाजका प्रतिनिधिले भने यस्ता परियोजना सञ्चालन गर्दा पालिका र समुदाय तथा सबै पक्षलाई परिचालन गर्न र परियोजनाका सबै विवरण पारदर्शी बनाउन माग गर्दै आएका छन् ।