समाचार
विपद् जोखिम न्यूनीकरणमा नेपाल दक्षिण एशियाली देशहरुमध्ये कमजोर
असोज २८, २०७७ बुधबार
काठमाण्डाै – विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा नेपाल दक्षिण एशियाली देशहरुमध्ये कमजोर देखिएको छ ।
नेपालले २०४९ सालमा दक्षिण एसियाकै पहिलो दैवीप्रकोप उद्धार ऐन ल्याएको भए पनि न्यूनीकणका क्षेत्रमा भने कमजोर देखिएको हो । अरु देशहरुले विपद् मन्त्रालय नै खडा गरिसकेका अवस्थामा नेपालले तीन वर्षअघि सन् २०१७ मा मात्रै नयाँ ऐन ल्याएको थियो । तर बल्ल यस वर्ष विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बनाइएको छ ।
अफगानिस्तान, श्रीलङ्का र बङ्गलादेशमा विपद्सम्बन्धी मन्त्रालय नै बनिसकेको छ । यस्तै नेपाल जलवायु परिवर्तनको असरको हिसाबले चौथो, भुइँचालाको जोखिमका हिसाबले ११ औँ र पानीजन्य प्रकोपको हिसाबले ३० औँ स्थानमा रहेको छ ।
भौगर्भिक हिसाबले पनि नेपालको धरातल कमजोर रहेको विज्ञहरु बताउँछन् । नेपालका पूर्वदेखि पश्चिमसम्मको भूभाग वर्षायाममा बाढीपहिरो, हिउँदमा अतिवृष्टि या अनावृष्टि, असिना, हुरी र जुनसुकै समयमा भूकम्पीय दृष्टिले संवेदनशील रहेको भूगर्भविद्हरुको भनाई छ ।
नेपालमा हरेक वर्ष औसत पाँच सयभन्दा धेरै विभिन्न प्रकोपका घटना हुने गरेका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलको भनाई छ । पछिल्लो ४५ वर्षमा नेपालमा ४० हजारभन्दा धेरै व्यक्तिले विभिन्न प्राकृतिक विपद्का कारण ज्यान गुमाईसकेका छन् ।