समाचार
तिहारबाट प्रकट हुने मानवीय उज्यालाेले सत्य र न्यायकाे मार्गमा रहन प्रेरित गराेस् : राष्ट्रपति भण्डारी
मंसिर १, २०७७ सोमबार
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपालीको महान् चाड तिहार २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि साेमबार शुभकामना दिँदै यस वर्षका सबै जसो चाडपर्व कोभिड–१९ महामारीका कारण आफू र आफ्ना परिवारका सदस्य र समाजको बृहत् सुरक्षालाई ध्यान दिइ मनाउन आग्रह गर्नुभएको छ ।
सन्देशमा भनिएको छ, 'यस महामारीविरुद्धको खोप अहिलेसम्म विकास भइ नसकेकाले पूर्वसावधानीका लागि समयसमयमा हात धुन, मास्क सही तरिकाले प्रयोग गर्न तथा व्यक्तिहरूबीच भौतिक दुरी कायम गर्न भुल्नु हुँदैन । चाडपर्वको समयमा पारिवारिक तथा सामाजिक अन्तरक्रियाहरू अझ बढ्ने हुँदा पूर्वसावधानी पालना गर्नु झनै जरुरी हुन आएको छ ।'
तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति¸ मानव जीवन र प्राणी जगतकाे अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नाका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउने तथा देउसी भैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।
सन्देशमा पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्त्वको तिहार प्रकाशको पर्व पनि भएको उल्लेख गर्दै तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्ने कामना गरिएको छ ।
साथै राष्ट्रपति भण्डारीले नेपाल संवत् ११४१ ले समाजको उन्नति र प्रगतिका लागि निःस्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेसं नयाँ वर्षका अवसरमा शुभकामना सन्देश दिँदै यस संवतले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्द्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो । यस संवतकाे पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदादेखि सुरु हुन्छ । लिच्छविकालीन राजा राघवदेवका समयमा काठमाण्डाै उपत्यकामा रहेका गरिब नागरिकलाई ऋणमुक्त गरी साख्वाले यस संवतलाई प्रचलनमा ल्याएको मानिन्छ ।