अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

जाडोमा कोरोनाको जोखिम झन् बढी, यी कुरामा ख्याल गरौँ

news

 
  मंसिर १८, २०७७ बिहिबार  डा. वासुदेव पाण्डेF
 
जाडो समयमा अरु रोगसहित कोरोना भाइरसको जोखिम पनि बढी हुन्छ ।  सामान्यतया गर्मीबाट जाडो मौसममा प्रवेश गर्दा शरीरको रोगसँग लड्न सक्ने क्षमता कमजोर हुन्छ ।  वृद्धवृद्धा, बालबालिका दीर्घरोगी तथा अरु विभिन्न खालका रोग भएका व्यक्तिहरु धेरै प्रभावित हुने गर्छन् । 
 
 
जाडो मौसममा खासगरी कोरोनासँगै मौसमी फ्लू, पखाला लगाउने रोटा भाइरस लगायतका भाइरसहरु सक्रिय हुने गर्छन् । यिनीहरु गर्मीको तुलनामा जाडोमा लामो समयसम्म बाँच्न सक्ने हुन्छन् । यी कारणले गर्दा जोखिम  बढेर जाने सम्भावना बढी हुन्छ ।
 
गएको दुई हप्तायता नेपालमा  कोरोना संक्रमितको सख्या घट्दै गएको छ । तर मृत्युदर भने बढ्दै गएको छ ।  दुई हप्ता यताको तथ्याङ्क हेरेर जाडोमा कोरोनाको संक्रमण घटेर जाला वा कन्ट्रोल होला भन्न सकिँदैन। 
 
दमका रोगी, सुत्केरी, गर्भवती तथा क्यान्सरका बिरामीलाई जाडोको बेला झन् बढी समस्या हुन सक्छ ।  यो समयमा फ्लूको पनि जोखिम हुन्छ । मानिसहरु जाडो छल्न हिटर बालेर बस्ने, झ्याल ढोका बन्द गर्ने गर्छन् । यसले गर्दा श्वासप्रश्वासमा  समस्या हुन सक्छ । यी कारणले पनि मृत्युदर बढेको हुन सक्छ । त्यसैले संक्रमण दर घटे पनि मृत्युदर बढिरहेको छ । 
 
हुन त  पहिला भर्ना भएर बसेका बिरामीहरुको ज्यान गएकाले मृत्युदर बढेको हो ।  केही समयमा मृत्युदर घटेर पनि जान सक्ला ।  तर पनि कोरोना भाइरस नयाँ भएकाले सबै कुरा भन्न सकिँदैन । अमेरिका, बेलायत तथा युरोपका विभिन्न देशहरुमा एकपटक संक्रमण दर घटेर जाने भए पनि फेरि बढेको प्रशस्तै उदाहरण छन् ।  नेपालमा खोपको उपलब्धता तुरुन्तै हुन सक्ने अवस्था छैन । त्यही भएर केही समय अझै कोरोनाका बिरामी बढ्न सक्छन्. । 
 
पहिलादेखि नै निमोनियाका समस्या भएमा फ्लूको भ्याक्सिन लगाउँदा राम्रो हुन्छ । कोठामा बस्दा झ्याल ढोका खोलेर बस्ने, घाम छिर्ने ठाउँमा बस्ने, सरसफाइमा ध्यान दिने र सुरक्षा सावधानी अपनाएमा मृत्युदर र संक्रमण दर कम गर्न सकिन्छ ।  
 
खासगरी दीर्घरोगी, बुढापाका, मुटुका रोगी, दमका बिरामी,  क्यान्सरका बिरामी, मिर्गौलासम्बन्धी समस्या भएकाहरु, सुत्केरी, गर्भवती बढी जोखिममा पर्ने देखिन्छ । ब्लडप्रेसरका बिरामीलाई भने जोखिम समूहमा लिन सकिँदैन । किनभने अहिले हरेक घरमा ब्लडप्रेसरका बिरामी छन् । तर पनि केही खालका यस्ता व्यक्तिहरु संक्रमणको जोखिममा हुने गर्छन् ।
 
अहिलेको अवस्थामा बालबालिकामा संक्रमणको जाखिम भए पनि मृत्युदर त्यति छैन । नेपालमा मात्र नभएर  अन्तर्राष्ट्रिय स्तरमा बालबालिका धेरै जोखिममा छैनन् । यसको विभिन्न कारण हुन सक्छन्, त्यो भने खोज्न बाँकी नै छ । 
 
सावधानीका उपाय निरन्तर अपनाउनुपर्छ । सकेसम्म घरबाट बाहिर निस्कनु हुँदैन । निस्कनै परेमा उचित रुपमा मास्कको प्रयोग गर्ने तथा दूरी कायम गर्ने कुरालाई ख्याल गर्नुपर्छ ।  पछिल्लो समय स्कुल तथा कलेज खुल्न थालेका छन् । अब बिस्तारै चर्च तथा मन्दिरहरु पनि खुल्न थाल्छन् । त्यस्ता ठाउँमा जाँदा विषेश ध्यान दिनुपर्छ । अहिले होटल तथा रेस्टुरेन्टमा स्वास्थ्य मापदण्ड पालना गरेको देखिँदैन ।
 
सार्वजनिक गाडी चढ्दा पनि ध्यान दिनुपर्छ ।  माइक्रो तथा टेम्पोमा चढ्दा झनै ख्याल गर्नुपर्छ । स्पेस कम हुने भएकाले कोरोना सर्ने जोखिम बढी हुन्छ । अबका दिनमा अस्पतालहरुमा अक्सिजनको मात्रा बढाउन आवश्यक छ । कतिपय व्यक्तिहरुले अक्सिजनको कमीका कारण पनि ज्यान गुमाएको पाइएकाले  अक्सिजनको राम्रो व्यवस्थापन आवश्यक छ । बिरामीको समयमा उपचार भयो भने मृत्युदर कम गर्न सहयोग पुग्छ  । र हामी पनि जोखिमबाट बच्न सक्छौँ । 
(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेसँग जानुका दुवाडीले गरेको कुराकानीमा आधारित)

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...