समाचार
माैसम : वाग्मती, गण्डकी र प्रदेश १ का पहाडी भू-भागमा हल्का पानी पर्ने सम्भावना
मंसिर २०, २०७७ शनिबार
काठमाण्डौ - अहिले देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बद्ली भएको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डौलगायत बाँकी ठाउँको मौसम भने सफा नै रहने मौसमविदले बताएका छन् । अहिले भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्यूनचापीय प्रणाली बनेकाले देशका पहाडी भू-भागको मौसम आंशिकदेखि सामान्य बद्ली भएको हो। यस्तै आज दिउँसो देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बद्ली रहेर बाँकी स्थानहरुमा आंशिक बद्ली रहनेछ ।
महाशाखाका अनुसार आज राति प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बद्ली रहने छ । यसैबीच, देशका धेरै ठाउँको वायुको तापक्रम घट्ने र तराई भू-भागमा बिहान वायुको पारदर्शितामा कमी आउने मौसमविद् विभूति पोखरेलले बताउनुभएको छ ।
सडक तथा हवाइ यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन उहाँको आग्रह छ । आज बिहान न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो । आजको अधिकतम तापक्रम भने १९ देखि २१ डिग्री सेल्सियससम्म हुने मौसमविद् पोखरेलको भनाइ छ ।