समाचार
इटलीमा फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाकाे घोषणा : नयाँ वर्ष र क्रिसमसमा लागू हुने
मंसिर २०, २०७७ शनिबार
काठमाण्डाै - इटलीमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाको घोषणा गरिएको छ ।
प्रधानमन्त्री गिसेपे कोन्टेले नयाँ वर्षसहित महत्त्वपूर्ण चाडपर्व आएकाले महामारी थप फैलिन नदिन नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरु घोषणा गरिएको जानकारी दिनुभयो ।
नयाँ वर्ष तथा क्रिसमस बिदामा लापरबाही बढेमा महामारी झन् फैलिन सक्ने प्रधानमन्त्री कोन्टेले बताउनुभयो । नयाँ व्यवस्थाअनुसार भीडभाड, चहलपहल तथा आवतजावतलाई नगरपालिका र क्षेत्रमा मात्रै सीमित गरिनेछ ।
एक नगर वा क्षेत्रबाट अर्को नगर वा क्षेत्रमा जान प्रतिबन्ध लगाइनेछ । प्रतिबन्ध कार्यान्वयनका लागि सुरक्षाकर्मीहरु परिचालन गरिने खबरमा उल्लेख छ ।
नयाँ प्रतिबन्धात्मक व्यवस्था डिसेम्बर २१ अर्थात् पुस ६ देखि जनवरी ६ अर्थात् पुस २२ सम्म लागू हुनेछ । इटली कोरोना महामारी धेरै रहेको देशको आठौं स्थानमा छ ।
पछिल्लो तथ्याङ्कअनुसार त्यहाँ १६ लाख ८८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ५८ हजार ८ सय ५२ जनाको ज्यान गएको छ । ८ लाख ७२ हजार भने निको भएका छन् ।