अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

चिसोमा बालबालिकाको ख्याल गरौँ

news

 
 
 
  मंसिर २६, २०७७ शुक्रबार  डा. गणेश राईF
 
जाडो समयमा  सबै उमेर समूहका मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छ । बालबालिका अझै बढी जोखिममा हुन्छन् । यो मौसममा बालबालिकामा विशेषगरी रुघाखोकी, निमोनिया, पखाला लाग्नेलगायतका स्वास्थ्य समस्या देखा पर्ने गर्छ । यो वर्ष यी रोगसँगै कोरोना भाइरसको जोखिम पनि उत्तिक्कै भएकाले यसतर्फ ध्यान दिन आवश्यक छ । 
 
 
कोरोना सङ्क्रमण भएको र अरु रोग लागेको कसरी छुट्याउने ? 
 
कुनै पनि बालबालिकालाई सामान्य रुघाखोकी मात्रै लागेको छ भने आत्तिनु पर्दैन । सामान्य ज्वरो आएमा पनि धेरै असर गर्दैन ।  तर चार दिनसम्म पनि ज्वरो ठिक नभएमा, कोखा हानेमा र छिटोछिटो श्वास फेरेमा भने बालबालिकालाई अस्पताल लगिहाल्नुपर्छ । किनकी त्यो कोरोनाको लक्षण पनि हुन सक्छ । कोरोनाको लक्षण नभए पनि बालबालिकालाई जोखिम भएको हो भनेर बुझनुपर्छ । 
 
जसरी कोरोना भाइरसले निमोनिया गराउँछ, त्यसैगरी सामान्य रुघाखोकी बिग्रियो भने पनि जटिलता देखिन सक्छ । मुख्य जटिलता भनेको निमोनिया हो । त्योबाहेक दम पनि घातक हुन सक्छ ।  बच्चाले धेरै घ्यारघ्यार गर्ने, चाँडोचाँडो श्वास फेर्ने र खानेकुराहरु कम खाने लक्षण देखिनु भनेको चिसोका कारण पनि हुन सक्छ । र त्यो कोरोनाको लक्षण पनि हुन सक्छ ।
 
सामान्य झाडापखाला लाग्दा जीवनजल र जिन चक्की दिँदा ठिक हुन्छ । ६ महिनामाथिका बालबालिकालाई भने आमाको दूधसँगै अरु खानेकुरा पनि दिन सकिन्छ । जस्तै दालको रस, गेडागुडीको रस दिन सकिन्छ । बालबालिकाले केही खान नसकेमा, बेहोस भएमा र  कम्पन आएमा  भने तुरुन्त स्वास्थ्य संस्था वा अस्पताल  लैजानुपर्छ । 
 
केके कुरामा ख्याल गर्ने :
 
खानेकुरा चिसो तथा फ्रिजबाट निकाल्ने बित्तिकै बालबालिकालाई खुवाउनु हुँदैन । बजारमा पाइने तथा तयारी खानेकुरा नखुवाउँदा राम्रो हुन्छ । भीडभाडमा सकेसम्म बालबालिकालाई लैजानु हुँदैन । लैजानै परेमा पनि मास्क लगाएर लैजाने गर्नुपर्छ ।
 
खानेकुरा खुवाउनुअघि र खुवाइसकेपछि पटक-पटक साबुन पानीले हात धुनुपर्छ ।  ६ महिनासम्मका बालबालिकालाई आमाको दूध मात्र खुवाउनुपर्छ । कतिपय अभिभावकमा चिसोको समयमा बालबालिकालाई फलफूल खुवाउन हुँदैन भन्ने बुझाइ छ । तर त्यसो होइन । यदि फोहोर र सडेगलेको फलफूल छ भने मात्र खुवाउनु हुँदैन । तर सिजनमा फल्ने स्वस्थ र ताजा फलफूल भने अलिअलि खुवाउँदा राम्रो हुन्छ । 
 
मौसमी फलफूल पनि अलिअलि खुवाउँदा राम्रो हुन्छ । सुन्तलालगायतका फलफूलमा पानीको तत्त्व, भिटामिन 'सी' पाइन्छ । यसले रुघाखोकी विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउने हुँदा चिसो मौसममा सुन्तला र कागतीलाई उपयुक्त मानिन्छ ।
 
खोपहरु नियमित लगाउनुपर्छ । चिसो मौसममा प्रदूषणको समस्या पनि धेरै हुन्छ ।  प्रदूषणबाट पनि बालबालिकालाई जोगाउनुपर्छ । चिसोको समयमा भाइरसको सङ्क्रमण बढी हुन सक्छ । घरभित्र आगो बालेर,  कोइला बालेर बस्नु हुँदैन । कोठामा भेन्टिलेसन हुनुपर्छ । यी कुराहरु हेर्दा सामान्य लाग्छ । तर यही  सामान्य कुरामा ख्याल गरेमा बालबालिकालाई विभिन्न रोगबाट बचाउन सकिन्छ । 
 
आनीबानी बदलौँ 
 
चिसोको समय बदल्न सकिँदैन । तर आनीबानी भने बदल्न सकिन्छ । चिसो खानेकुरा बालबालिकालाई नखुवाउने, बासी सडेगलेका खानेकुराहरु नखुवाउने, सबैजना एकैठाउँमा भेला भएर नबस्ने, व्यक्तिगत सरसफाईमा ध्यान दिने गर्नुपर्छ ।  जाडो  छ भनेर बालबालिकालाई धेरै लुगा लगाइदिनु हुँदैन ।
 
कोरोनाले अहिले हामीलाई विभिन्न किसिमको रोगबाट पनि बचाएको छ । जस्तै हात धुने, मास्क लगाउने, भीडभाडमा नजाने गर्दा रोग लाग्ने सम्भावना कम भएको छ ।  तीबाहेक सरकारले दिने गरेको खोपको मात्रा पूरा गर्ने, फोहोर  र सडेगलेका खानेकुरा नखुवाउने तथा व्यक्तिगत सरसफाईमा ध्यान दिनाले यस्ता रोगबाट बच्न सकिन्छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...