समाचार
वैज्ञानिक आविष्कारः कस्तो सपना देख्ने ? राम्रो कि नराम्रो ? अब तपाँई आफै निर्णय गर्न सक्नुहुन्छ
एजेन्सी । हामी सबैले सपना देख्छौं । कहिले राम्रा त कहिले नराम्रा सपनाहरुले हामीलाई पछ्याइ रहन्छन । सपना कस्तो देख्ने भन्ने बारे हाम्रो नियन्त्रण हुँदैन । अर्थात सपना राम्रा र नराम्रा दुवै प्रकारका देखिन सक्छ । तर अब यो प्राकृतिक प्रक्रियामा मानवीय नियन्त्रण कायम हुने भएको छ ।
अमेरिकाको म्यासाच्युसेट्स ईन्स्टिच्युट अफ टेक्नोलोजी (MIT) का वैज्ञानिकहरुले सपना ह्याक गर्ने उपकरण बनाएका छन । MIT ड्रिम ल्याबमा यस्तो उपकरण बनेको छ, जसले तपाँई आफ्नो सपना ह्याक गर्न सक्नुहुन्छ । अर्थात कस्तो सपना देख्ने भन्ने विषयको निर्णय लिन तपाँई सक्षम हुनुहुनेछ ।
MIT ड्रिम ल्याबका अनुशन्धानकर्ता एवं पिएचडीका विद्यार्थी एडम होरोविट्जका अनुसार मानवीय जीवनको एक भाग सपना देख्नैमा बित्छ । यदी सपनाहरुलाई ब्यक्ति आफैले नियन्त्रण गर्न सक्ने हो भने ब्यक्तित्वमा थप निखार आउँछ । अर्थात राती नराम्रो सपना देखेर विहान तनाव लिनुपर्ने अवस्था आउँदैन । कतिपय नराम्रा सपनाहरुले मस्तिष्कमा खराब प्रभाव पार्छ । सपनामा नियन्त्रण कायम गर्न सघाउने यो उपकरणले मानवीय मस्तिष्कको क्षमता पनि बढाउनेछ ।
आफुले चाहे जस्तो सपना देख्न सघाउने उपकरणको नाम डोरिमो (Dorimo) हो । यसलाई पञ्जा लगाए जस्तै गरी हातमा लगाउन सकिन्छ । यो उपकरणमा थुप्रै प्रकारका सेन्सरहरु जडान गरिएका हुन्छन । डोरिमो उपकरणले सुतेको बेला मानिसको अवस्थाको परीक्षण गर्छ ।
मानिस चेतन (Concious) अवस्थामा छ या अर्धचेतन ( Sub Concious) अवस्थामा छ भन्ने विषय यो उपकरणले पत्ता लगाउँछ । जब मानिस बीचको अवस्थामा रहन्छ, त्यो अवस्थालाई हिप्नागोगिया (Hypnagogia) भनिन्छ । यही अवस्थामा मानिसले सपना देख्छ ।
डोरिमो (Dorimo) उपकरणले हिप्नागोगिया अवस्थामा सुतेको मानिसको मस्तिष्कमा बन्ने दृष्य र आभासलाई नियन्त्रित गर्छ । यो उपकरणमा प्रि रेकर्डेड म्यासेजहरु हुन्छन । जसले मस्तिष्कसम्म सन्देश पुर्याउँछ । जसअनुसार चाहे जस्तो सपना देख्न सघाउँछ । यो डोरिमो उपकरणको परीक्षण अहिले ५० जना मानिसहरुमा गरिएको वान जिरो डट मेडियम डट कमले जनाएको छ ।
यो उपकरणमा आवश्यक फेरबदलका काम गर्न बाँकी नै छ । युनिभर्सिटी अफ मोन्ट्रियलको साइकेट्री विभागका प्रोफेसर टोर निल्सनले बताए अनुसार यो डोरिमो उपकरण उत्कृष्ट आविष्कार हो । उनले भने, “जो कोही पनि राम्रो सपनामा रमाउन चाहन्छ । सपनालाई आफ्नो नियन्त्रणमा ल्याउन चाहन्छ । तपाँई यो उपकरणको सहयोगमा सपनामा उड्न सक्नुहुन्छ । गीत गाउन सक्नुहुन्छ । विभिन्न ठाउँमा घुम्न सक्नुहुन्छ । यतिसम्म कि तपाँई सेक्स पनि गर्न सक्नुहुन्छ । यो उपकरणको माध्यमबाट देखिने सपना भर्चुअल दृष्यभन्दा पनि स्पष्ट देख्न र अनुभुत गर्न सकिन्छ ।”
सपनालाई नियन्त्रण गर्ने डोरिमो उपकरणको आवाज सुनाएर वा कुनै बायोलोजिकल सन्देश पठाएर तपाँईको सपनालाई नियन्त्रण गर्ने यो उपकरण बारे विश्वभरका वैज्ञानिकहरुको साझा राय बन्न सकेको छैन । यो वैज्ञानिक प्रयास कतिसम्म सफल र उपयुक्त हुन्छ भन्ने बारे वैज्ञानिकहरुले स्पष्ट छैनन् । अर्थात उनीहरु पनि दुविधामा छन । यस्तो अवस्थामा मानवीय मस्तिष्कको अवस्था कस्तो हुनेछ भन्ने बारे पनि वैज्ञानिकहरुले स्पष्ट तथ्य पत्ता लगाइसकेका छैनन् ।
युनिभर्सिटी अफ एरिजोनाका निद्रा तथा सपनाका विशेषज्ञ रुबिन नायमनका अनुसार अर्धचेतन अवस्था विशेष खालको ईन्टिलिजेन्स अवस्था हो । उनले भने, “त्यो अर्धचेतन अवस्थाबाट हामीले धेरै कुरा सिक्न र जान्न सक्छौं । त्यो अवस्थालाई दबाउन वा अन्त्य गर्न सक्दैनौं ।” मानिस अर्धचेतन अवस्थामा हुँदा त्यसमा गरिने तोडमोड या फेरबदल सम्भवतः खतरनाक पनि हुन सक्ने नायमनलाई उद्धृत गर्दै वान जिरो डट मेडियम डट कमले जनाएको छ ।