समाचार
फस्ट अल स्कूल रनिङ कप फुटसल टुर्नामेन्ट २०२१
रेडियो आँधीखोला,
वालिङ १८ माघ ।
वालिङ ८ बीपीचोकमा फस्ट अल स्कूल रनिङ कप फुटसल टुर्नामेन्ट २०२१ सम्पन्न भएको छ । वालिङ स्पोटर्स सेन्टरले आयोजना गरेको टुर्नामेन्टमा सिनियर र जुनियर प्रतियोगिता गरिएको थियो । सिनियरतर्फ कक्षा १२ सम्मका लागि जुनियरतर्फ १० कक्षा सम्मका विद्यार्थीहरु सहभागी थिए ।
टुर्नामेन्टमा सिनियरतर्फ भुपू सैनिक आवसीय मावि वालिङ प्रथम र नेपाल आदर्श मावि द्वितीय भएका छन् । त्यस्तै जुनियरतर्फ भुम्रे मावि प्रथम, भूपू सैनिक आवासीय मावि बयरघारी द्वितीय र बुद्ध मेमोरियल बयरघारी तृतीय भएका छन् । दुवैतर्फको प्रतियोगितामा प्रथम हुनेले रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने द्वितीय र तृतीय हुनेले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै सिनियरतर्फ उत्कृष्ट खेलाडीमा नेपाल आदर्श माविका विशाल गुरुङ, उत्कृष्ट गोलकिपरमा भूपू सैनिक आवासीय मावि वालिङका आकाश थापा र सर्वाधिक गोलकर्ता भूपूकै सुरज एस्के भएका छन् । त्यस्तै जुनियरतर्फ उत्कृष्ट खेलाडी भुम्रे माविका विशाल विक, उत्कृष्ट गोलकिपर भूपू सैनिक बयरघारीका अनुज मगर र सर्वाधिक गोलकर्ता भुम्रे माविका मनिस परियार भएका छन् ।
प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गर्दै एन्फाका केन्द्रीय सदस्य तथा वालिङ खेलकुद विकास समितिका संयोजक एलवि ज्वारचनले यस्ता प्रतियोगिताले विद्यार्थीहरुको खेल क्षमताको विकास हुने र प्रोत्साहन समेत मिल्ने बताउनुभयो ।
पहिलो पटक सञ्चालन गरिएको रनिङ शिल्ड प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तररुपमा सञ्चालन गरिने स्पोटर्स सेन्टरका सञ्चालक गणेश सुवेदीले बताउनुभयो । सुबेदीको सभापतित्वमा सम्पन्न समापन तथा पुरस्कार वितरण समारोहको सञ्चालन तोलाकान्त बगालेले गर्नुभएको थियो ।
त्यस्तै पुतलीबजार नगरपालिकाका प्रथम मेयर उमेशचन्द्र थापाको स्मृतिमा चौथो ७ ए साईड फुटबल पुलतीबजार नगरपालिका–१३, कुलबाधमा एक कार्यक्रमका विच शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले प्रथम मेयर उमेशचन्द्रको सम्मान तथा स्मरणमा फुटबल प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
नगरप्रमुख क्षेत्रीले स्वार्गीय थापाको स्मरण गर्दै उहाँले पुरा गर्न नसकेका कामहरु आफुले पुरा गर्ने बताउदै थापा सरल, इमन्दार र कुशल तथा स्पस्ट वक्ता रहेको बताउनुभयो । उहाँले खेलको माध्यमबाट खेलाडीहरुमा रहेको प्रतिभाहरु बाहिर निकाल्न प्रतियोगिताको आयोजना गरिएको बताउदै अनुशासन सहित राम्रो कला प्रदर्शन गर्न खेलाडीहरुलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाका नगरप्रबक्त तथा वडा अध्यक्ष ख्यामनारायण अधिकारी, नेपाल रेडक्रस सोसाइटी स्याङजा कोषाध्यक्ष लक्ष्मी थापा र समाजसेवी बालचन्द्र थापा लगाएतले प्रथम मेयर थापाको स्मृतिमा फुटबल प्रतियोगिताको आयोजना गरेर पुतलीबजार नगरपालिकाले राम्रो काम गरेको बताउनुभयो ।