समाचार
पुतलीबजार नगरपालिका–१ मालेबगरमा पालिका स्तरीय भलिवल प्रतियोगिता शुरु
रेडियो आधिखोला , वालिङ ९ फागुन ।
पुतलीबजार नगर युवा तथा खेलकुद विकास संजाल स्याङजाको आयोजनामा पुतलीबजार नगरपालिका–१ मालेबगरमा पालिका स्तरीय भलिवल प्रतियोगिता शुरु भएको छ ।
पुतलीबजार नगरपालिकाको आर्थिक सहयोगमा भलिवल प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै पूर्व सांसद नारायण प्रसाद मरासिनीले खेलकुदका माध्यबाट धेरै विकास गर्न सकिने बताउनुभयो । उहाँले खेलकुदका माध्यबाट देशको व्यवस्थामा परिवर्तन गर्न सकिने बताउदै खेलकुद भाईचारको माध्यम भएको बताउनुभयो ।
प्रतियोगिता उद्घाटन शत्र कार्यक्रममा पुतलीबजार नगरपालिका प्रमुख सिमा कुमारी क्षेत्रीले युवाहरुलाई निरास नबनाउन प्रतियोगिताको आयोजना गरिएको बताउदै पुलतीबजार नगरपालिका उत्पादन, कृषिमा जुटेको बताउनुभयो । नगरप्रमुखले खेलाडीहरुलाई अनुशासनमा रहेर खेल प्रदर्शन गर्न अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा नेतृ तारा शर्मा, नेपाली कांग्रेसका नगरसभापती वेदप्रसाद दोरङ्गा, पुतलीबजार नगर प्रवक्ता ख्यामनारयण अधिकारी लगायतले भलिवल प्रतियोगिता आयोजनाले युवाहरुको हौसला उच्च भएको धारणा व्यक्त गर्नुभएको थियो । पुतलीबजार नगर युवा तथा खेलकुद विकास संजाल स्याङजाका अध्यक्ष डोल बहादुर मल्लको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन शत्रको संचालन संचारकर्मी विक्रम परियारले गर्नुभएको थियो भने स्वागत मन्तव्य संजालकी कोषाध्यक्ष सुनिता क्षेत्रीले राख्नुभएको थियो
यही फागुन १३ गते सम्म संचलन हुने प्रतियोगितामा विभिन्न ६ जिल्लाका १६ समुह दर्ता भएका छन् ।
प्रतियोगितामा प्रथम पुरस्कार २ लाख, द्धितिय पुरस्कार १ लाख, तृतिय पुरस्कार ५० हजार र सान्तोना पुरस्कार २५ हजार रहेको खेल संयोजक राजेन्द्र प्रसाद अर्यालले जानकारी दिनुभयो । उद्घाटन खेलमा भिरकोट नगरपालिका विजयी भएको छ ।
भिरकोट नगरपालिकाले अर्जुनचौपारी गाउँपालिकालाई पराजित गरेको हो ।आजका खेलहरुमा वालिङ नगरपालिका र गल्याङ नगरपालिका, पुतलीबजार नगरपालिका र सुक्लागण्डकी नगरपालिका र अन्तीम खेल हरिनास गाउँपालिका र चापाकोट नगरपालिका विच हुने अयोजकले जानकारी दिएको छ ।