अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

तारकेश्वरमा फेरि बर्ड फ्लू भेटियाे : एकैदिन साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट

news

 
  फागुन १४, २०७७ शुक्रबार 
काठमाण्डौ - काठमाण्डौको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लू भेटिएको छ ।
 
तारकेश्वर नगरपालिका-१ साङ्लाफाँटमा हिजो एकैदिन साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ ।
 
विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको अनुगमन टोलीले जनाएको छ ।
 
फार्ममा रहेका ३ हजार ५ सय ७० वटा अण्डा र १४५० किलो दाना पनि नष्ट गरिएको वडा सदस्य अच्युतराज कुँवरले जानकारी दिनुभयो । यस्तै नजिकै रहेको सरिता शाहको २ हजार ९ सय ६० वटा ब्रोइलर चल्ला मारिएको छ ।
 
फार्ममा रहेको ७५० किलो दाना पनि नष्ट गरिएको वडा सदस्य कुँवरले बताउनुभयो । यसैगरी सम्झना ठकुरी तिवारीको २ हजार ७६ वटा ब्रोइलर र १००७ वटा लोकल कुखुरा नष्ट गरिएको छ । शान्ता खनालले पालेको १०० वटा लोकल कुखुरा र २ वटा टर्की पनि मारेर नष्ट गरिएको छ ।
 
तारकेश्वर नगरपालिका-१ मा नै यसअघि १४ सयभन्दा धेरै हाँस मारिएको थियो । यस्तै काठमाण्डौसहित सुर्खेतलगायत जिल्लाहरुमा पनि बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । कुन-कुन ठाउँमा सङ्क्रमण छ भनेर आफूहरुले अध्ययन गरिरहेको पशुसेवा विभागले जनाएको छ ।
 
बर्ड फ्लूको सङ्क्रमण देखिएपछि मारिएका कुखुराका किसानलाई कसरी क्षतिपूर्ति उपलब्ध गराउने भन्नेबारे प्रमुख जिल्ला अधिकारीसहितको बैठक बसेर निर्णय गरिने र २ देखि ३ महिनाभित्र किसानले क्षतिपूर्ति पाउने तारकेश्वर नगरपालिकाका वडा सदस्य कुँवरले बताउनुभएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...