अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

स्थानीय र पश्चिमी वायु सक्रिय : आज र भोलि असिना पानीको सम्भावना

news

 
  बैशाख ४, २०७८ शनिबार 
काठमाण्डाै - देशका पहाडी केही ठाउँ र तराईका थोरै ठाउँमा आज पनि हावाहुरी, मेघगर्जन, चट्याङ्ग र असिनासहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 
अहिले पूर्व, कर्णाली तथा सुदूरपश्चिममा मौसम सामान्य बद्ली भएको छ । गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रमा पनि मौसम आंशिक बद्ली भएको छ । प्रि-मनसुनको गतिविधि सक्रिय रहेकाले आज पनि देशका धेरैजसो ठाउँमा आंशिकदेखि सामान्य बद्लीकै अवस्था रहने महाशाखाले जनाएको छ ।
 
आजदेखि पश्चिमी वायु पनि भित्रिएको छ । स्थानीय र पश्चिमी गरी दुई वटा प्रणाली सक्रिय रहेकाले मौसम बद्लीसँगै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु मनसुन सुरु नहुँदासम्म बेलाबेला देखिने गरेको तर यसको असर कमजोर रहने महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।
 
आज र भोलि पहाडी केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित असिना पानीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । हिजो काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा चट्याङ्ग, हावाहुरीसहित असिना पानी परेको थियो ।
 
लामो समयदेखि खडेरी परेका बेला परेको असिना पानीले कतै कतै क्षति गरे पनि खेती लगाउन तयार किसानलाई राहत पुगेको छ । साथै डढेलो र प्रदूषणको असर घटाउन अहिले परेको पानी महत्त्वपूर्ण रहेको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले बताउनुभएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...