अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

राष्ट्रिय सभा सदस्य उपचुनावको मतदान सुरु, नतिजा आजै सार्वजनिक गर्ने तयारी

news

 
  जेठ ६, २०७८ बिहिबार 
काठमाण्डाै - वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यका लागि मतदान सुरु भएको छ ।
 
अहिले ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । हेटौँडा नगरपालिका–४ को भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिएको तीन केन्द्रमा मतदान हुन लागेको हो। मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ  ।
 
मतदातालाई कोरोना परीक्षणको रिपोर्ट ल्याउन भनिएको तर रिपोर्ट नल्याएकाहरुलाई एन्टिजेन विधिमार्फत परीक्षण गराएर परीक्षणको नतिजाअनुसार मतदान गर्न लगाइने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
 
उपचुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णगोपाल तामाङले उम्मेदवारी दिनुभएको छ । माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपचुनाव हुन लागेको हो । एमालेले आधिकारिक रुपमा थापालाई उम्मेदवार बनाए पनि झलनाथ खनाल र माधव नेपाल पक्षले उम्मेदवारी दर्ताको बेला देवकोटालाई समर्थन गरेको थियो ।
 
यो उपचुनावमा वाग्मती प्रदेशसभा सदस्य १ सय १०  र  प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर २ सय ३८ गरी ३ सय ४८  मतदाता  कायम रहेको  आयोगले जनाएको छ । यसैबीच, उपचुनावको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने तयारी गरिएको छ ।
 
मतगणना बेलुकी ५ बजेदेखि सुरु गरिने र आजै बेलुकासम्ममा भर्चुअल माध्यममार्फत नतिजा सार्वजनिक गर्ने तयारी भएको प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठले बताउनुभयो । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपचुनाव भने जेठ १७ गते हुने छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...