अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

आवश्यकता भन्दा धेरै किताब किन्न लगाउनु विद्यालयको बदमासी हो

news

 
 
 साउन ६, २०७८ बुधबार   
 
 
डा. विद्यानाथ कोइराला
कतिपय निजी विद्यालयहरुले बालबालिकाहरुलाई सरकारले तोकेको भन्दा तीन गुणासम्म  बढी पुस्तक किन्न लगाउने गरेको भेटिन्छ । धेरै पुस्तक  किन्न लगाउँदैमा र पढाउँदैमा बालबालिकाले धेरै सिक्छन् वा  ज्ञानी  हुन्छन् भन्ने होइन ।  
 
बालबालिकालाई धेरै जानकारी दिनु, सिकाउनु राम्रो हो । तर घोकाउनु त्यति राम्रो होइन । सरकारले तोकेको न्यूनतम पुस्तक बालबालिकाको साथमा राख्न दिने र पढाउने गर्नुपर्छ ।  बाँकी किताब बालबालिकाले आफ्नो इच्छा अनुसार पढ्न सक्ने गरी पुस्तकालयमा राखिदिनुपर्छ ।
 
बालबालिकालाई जबरजस्ती  यो पुस्तक पढ्नैपर्छ भनेर लाद्नु हुँदैन । पढ्नै पर्ने भनेर सरकारले तोकेको पुस्तक  रचनात्मक तरिकाले पढाउने र सिकाउने गर्नुपर्छ ।  बाँकी बालबालिकाको रुचि र चाहाना अनुसार पढ्न दिनुपर्छ ।  त्यसका लागि पुस्तकालयमा धेरै थरीका पुस्तकहरु राखिदिने गर्नुपर्छ । यसो गरेमा  बालबालिकाले रोजेर पुस्तक पढ्न पाउँछन् ।  जबरजस्ती  किताब किनाएर घोकाउनु एकदमै गलत हो । 
 
बालबालिकाको सिकाइ प्रभावकारी बनाउनका लागि नेतृत्वसँग खासै चासो देखिँदैन । प्राय: सरकारी विद्यालयहरुमा बालबालिकाहरुलाई धेरै पुस्तक किनाएको भेटिँदैन । तर निजी विद्यालयमा बालबालिकालाई धेरै पुस्तक भिराउने गरेको भेटिन्छ । फेरि निजी विद्यालयका अधिकांश सञ्चालकहरु  नेतृत्व गर्नेहरु नै छन् । देश चलाउने र विद्यालय चलाउने एउटै मान्छे भएकाले कसले के गर्यो, के सही–के गलत भन्नेमा त्यति चासो नभएको हुन सक्छ ।  सरकारले तोकेको भन्दा धेरै किताब बालबालिकालाई पढाउनु विद्यालयहरुको  बदमासी हो । 
 
बालबालिकालाई सबै विषय घोकाउनु पर्छ भन्ने होइन । जानकारी गराउने हो । निजी विद्यालयहरुले बालबालिकालाई जबरजस्ती घोकाउने गरेको पाइन्छ । निजी विद्यालयहरुकाे बदमासीका बारेमा पञ्चायत कालदेखि नै कुरा उठ्दै आएको हो । त्यतिबेला पनि सरकारले तोकेअनुसारको पाठ्यपुस्तक पढाउनका लागि आग्रह गरिएको थियो । तर कतिपय निजी विद्यालयहरुले त्यो कुरा मानेनन् । पञ्चायत कालमा एउटै किताब मात्र पढाउने भनेको थियो । तर एउटा मात्रै पुस्तक पढाएर हुँदैन भनेर त्यसको विरोधमा होहल्ला सुरु भयो । विरोधहरु  पनि भए । त्यसपछि एउटै पुस्तकले मात्रै हुँदैन थरीथरीका पुस्तकहरु पढाइनुपर्छ भन्ने भयो । थरीथरीको किताब हुनु, बेठिक भने होइन । किनभने मेची महाकालीको एउटै परिवेश छैन । त्यसकारण बहु पाठ्यपुस्तकको चिन्तन सरकारले गरेको हो । 
 
शिक्षा आयोगको प्रतिवेदन र शिक्षा नीतिमा पनि  बहु पाठ्यपुस्तकको कुरा उल्लेख गरिएको छ । तर त्यसो भन्दैमा कमिसनकै  लागि चाहिने भन्दा धेरै पुस्तक बालबालिकालाई बोकाउनु एकदमै गलत हो । कतिपय विद्यालयहरुले पाँच, छ वर्षका बालबालिकालाई पनि एघार, बाह्र वटा पुस्तक पढाएको भेटिन्छ । पाँच, छ  वर्षका बालबालिकालाई त्यति धेरै किताब बोकाउनु भनेको एकदमै नराम्रो काम हो । उनीहरुलाई नभई नहुने दुई, तीन वा चार वटासम्म किताब दिन सकिन्छ । तर बाँकी किताबहरु बालबालिकाहरुले आफ्नो परिवेश अनुसार पढ्न पाउने बन्दोबस्त गरिदिनुपर्छ । उनीहरुले पढ्न रहर लागे पढ्छन् । नलागे पढ्दैनन्  । तर अनिवार्य गराइनु हुँदैन । 
एउटै कुराबाट बहु विषयमा जानकारी दिने कला हुने हो भने, चाहिने जति मात्रामा  सिकाउन सकिन्छ । 
 
उदाहरणको लागि बालबालिकाले खाना खाँदा थालमा दाल, भात र तरकारी हुन्छ । बालबालिकाले सन्तुलित खानाको बारेमा त्यहीँ पढिरहेका हुन्छन् । जानकारी लिइरहेका हुन्छन् । त्यसैबाट  बालबालिकालाई सन्तुलित खानाको बारेमा जानकारी गराउन सकिन्छ ।  सन्तुलित खानाकोबारे पढाउनका लागि छुट्टै किताब किनिरहनुपर्ने आवश्यकता नै हुँदैन । बालबालिकालाई थप जानकारी चाहिएमा मात्र अरु किताब पढ्न लगाउन सकिन्छ ।   थप जान्न नचाहने बालबालिकालाई सामान्य जानकारीले पनि काम चल्छ । यो भनेको अन्तर्राष्ट्रिय प्रयास र व्यवहार दुवै हो । 
 
(शिक्षाविद् कोइरालासँग गरिएको कुराकानीमा आधारित )

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...