अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

चोर दोष नलागोस् भन्ने कामनासाथ दशैँ भित्र्याउन चथाः मनाउँदै नेवार समुदाय

news

 

काठमाण्डाै – गणेश चतुर्थीका अवसरमा आज नेवार समुदायले जीवनमा चोर दोष नलागोस् भन्ने कामनासाथ आउँदो दशैँ भित्र्याउन चथाः गणेश र चन्द्रमाको पूजा गरी चथाःपर्व मनाउँदै छन् ।

भगवान् गणेशको जन्मदिन मानिएको चतुर्थीका दिन नेवार समुदायले बिहानै घरलाई चोख्याएर बेलुका पूजा गर्न चथाः गणेशको तस्बिरसहित पूजामा चाहिने सामग्री भित्र्याउने गर्छन् । गणेश चतुर्थीलाई नेवार समुदायले दशैँ भित्र्याउने चाडका रूपमा समेत लिने भएकाले यस दिनलाई दशैँको प्रारम्भ पर्वका रूपमा लिइन्छ । यस दिन विशेष गरी घरघरमा मासु भित्र्याउने चलन छ । नेवार समुदायमा चथाः पर्व राम्रो भए दशैँ पनि राम्रो हुने धार्मिक मान्यता र विश्वास रहेको पाइन्छ । आजकै दिन भक्तपुरका किसानले आ–आफ्ना अदुवा खेतीको पूजा गरी नयाँ अदुवा निकाल्ने प्रचलनसमेत छ ।

यस दिन राति नेवार समुदायले कौशी वा घरको आँगनमा चथाः गणेश र चन्द्रमाको विधिवत पूजा गर्ने गर्छन् । पूजामा कमलको फूलको पातमा चथा गणेशको तस्वीर राखेर, नैवेद्य, पञ्चपकवान, अनार, केरा, अम्बा, नासपाती, काँक्रा, सुन्तला, काँचो भिजाएको केराउ, कमलको फूल, नयाँ अदुवाको बोट तथा मकै, भटमास, गहुँ, बदाम, मुगी, केराउ, चना, बकुल्लासमेत आठ प्रकारका भुटेका गेडागुडी चढाइन्छ । साथै पूजामा घ्यूमा भुटेको आरुको बियाँ, दुबो, कालो तिलको लड्डु, मुला खाइसी (भोगटेजस्तो एक प्रकारको फल) चढाउँछन् । ​

चथा गणेशको पूजा सकेपछि आकाशतिर हेरेर चन्द्रमाको पूजा गरिन्छ । पूजामा घरपरिवारका सबै सदस्य बस्नुपर्ने परम्परा छ । पूजा सकेपछि घरका सबै बसेर चथा गणेशलाई चढाएको पञ्चपकाव, काँक्रा, फलफूल र भुटेका गेडागुडी प्रसादका रूपमा खाने चलन छ । प्रसाद खाइसकेपछि दहीको सगुनसहित भोज खाइन्छ ।

यस दिन चथा गणेशको पूजा गरेमा खुशी मिल्ने, जीवनमा चिताएको मनोकांक्षा पूरा हुनाका साथै दशैँ राम्रोसँग मनाउन पाउने लोक मान्यता छ । चन्द्रमालाई विधिपूर्वक पूजा गरे जीवनमा अनाहकमा चोर दोष नलाग्ने जनविश्वास रहेको छ । नेवार समुदायमा चथाको दिन गणेश र चन्द्रमाको पूजा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतिक्षामा बस्ने र चन्द्रमा देखापरेपछि मात्र पूजा गरी प्रसाद खाएर घरभित्र जाने प्रचलन छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...