समाचार
पुष्पलाल, मनमाेहन, मदन भण्डारीजस्ता नेताहरूकाे प्रेरणा लिएर पार्टी अघि बढ्छ : नेता नेपाल
असोज ७,काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवाद (जबज) लाई आत्मसात् गर्न चाहेको बताउनुभएको छ । अध्यक्ष नेपालले जनताको बहुदलीय जनवादकाे मूल्य र मान्यतालाई रक्षा गर्दै आफ्नो पार्टी अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
पार्टी निकट युवा सङ्घ नेपालले आज बिहीवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरूको जीवनबाट प्रेरणा लिएर आफ्नो पार्टी अघि बढ्ने पनि बताउनुभयो । अध्यक्ष नेपालले माओ, होची मिन्हजस्ता नेताहरूले विश्व कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्न पनि पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘जनताको बहुदलीय जनवादलाई हामी आत्मसात् गर्न चाहन्छौँ र त्यसको मूल्य र मान्यताको रक्षा गर्न चाहन्छौँ । विश्वका विभिन्न देशमा कम्युनिस्ट पार्टीहरूमा एकसे एक नेताहरूको उदय भएको छ र उहाँहरूको महत्त्वपूर्ण भूमिकाले त्यो देशको कम्युनिस्ट आन्दोलन निरन्तर रूपमा अगाडि बढेको छ ।