समाचार
बाढी पहिरोका कारण बन्द विभिन्न ५ सडक खण्ड अझै खुल्न बाँकी
असोज १४ काठमाण्डाै - दशैँ सुरु हुनै लाग्दा बाढी पहिरोका कारण बन्द भएका देशभरका ५ सडक खण्ड अझै खुल्न सकेको छैनन् ।
डुम्रे-बेसीसहर–चामे सडक खण्ड लामो समयदेखि बन्द छ । गएको असार एक गते मनाङको धारापानी र बगरछापमा मर्स्याङ्दी नदीले कटान गरेपछि बन्द भएको यो सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । नदीले सडकको धेरै ठाउँ नै कटान गरेकाले खुलाउन समस्या भएको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवप्रसाद नेपालले जानकारी दिनुभयो।
उहाँका अनुसार यो सडक खण्ड दशैँसम्ममा सञ्चालनमा आउने सम्भावना कम छ। दशैँसम्ममा समेत सञ्चालनमा आउन नसक्ने भएपछि यो सडक खण्ड भएर आवतजावत गर्ने यात्रु भने समस्यामा परेका छन् ।
खाद्यान्न ढुवानीदेखि आवतजावतमा समेत समस्या भएको छ । यस्तै गएको असार एक गतेदेखि नै बन्द भएको गल्छी-त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी– रसुवागढी सडक खण्ड भने मर्मतको काम भइरहेको इञ्जिनियर सन्तराम पाण्डेले जानकारी दिनुभयो ।
अबको एक हप्ताभित्रमा यो सडक खण्ड सञ्चालमा आउने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो। यस्तै बझाङको खोड्पे–चैनपुर सडक खण्ड पनि बन्द लामो देखि बन्द छ । यो सडक खण्ड पनि मर्मतको पहल भइरहेको सडक विभागले जनाएको छ ।
देशभरका अन्य एक सय ३१ सडक खण्ड एकतर्फी रुपमा मात्रै सञ्चालनमा छन् । बन्द रहेका र एकतर्फी मात्रै सञ्चालनमा रहेका सडकलाई दशैँसम्ममा खुलाउने गरी काम भइरहेको सडक विभागले जनाएको छ ।
दशैँमा यात्रा गर्ने यात्रुको आवतजावत सहज पार्नका लागि र कुनै कारण बस सडक बन्द भएमा आधा घण्टाभित्र खोल्ने गरी जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको पनि विभागले जनाएको छ ।
कुन सडककाे अवस्था कस्ताे थाहा पाउन यहाँ क्लिक गर्नुहाेस्।