समाचार
चिया निर्यातकाे अवरोध हट्यो तर समस्या भने कायमै
मंसिर २२,काठमाण्डाै – नेपाली चिया गुणस्तरहीन भएको भन्दै निर्यातमा लगाइएको भारतीय अवरोध हटेको छ । तर सहज निर्यातमा भने समस्या कायमै रहेको उद्योगीहरु बताउँछन् । ‘टी बोर्ड अफ इन्डिया’बाट अनुमति लिएर मात्रै नेपाली चिया निर्यात गर्ने नियम सुरू भएकाले निर्यातमा फेरि समस्या भएको हो । बोर्डको अनुमति लिन वितरणका लागि चिया आयात गर्ने सबै निकायले गुणस्तर परीक्षणको नमुना संकलन गरी २४ घण्टाभित्र भण्डारण गर्ने ठाउँको जानकारी गराउनुपर्ने हुन्छ ।
यी सबै प्रक्रिया पूरा गर्दा धेरै समय लाग्ने भएकाले सहज निर्यातमा समस्या रहेको चिया हिमालय टी प्रोड्युसर कोअपरेटिभ लिमिटेडका अध्यक्ष तथा गोर्खा टी स्टेट फिक्कल इलामका प्रोप्राइटर उदय चापागाईँले बताउनु भयो । उहाँका अनुसार पहाडी क्षेत्रका कुल उत्पादनको १० देखि १२ लाख किलो चिया निर्यातकै प्रक्रियामा छ । झण्झटिलो प्रशासनिक प्रक्रियाका कारण यो बराबरको चिया निर्यातमा ढिलाई भएको उहाँको भनाइ छ ।