समाचार
स्याङ्जामा नेपाल ब्युटिसियन संघ गठन
रेडियो आँधीखोला
वालिङ, १९ माघ ।
नेपाल ब्युटिसियन संघ स्याङ्जाको प्रथम अधिवेसन सम्पन्न भएको छ । नेपाल ब्युटिसियन संघको केन्द्रिय सर्कुल अनुसार स्याङ्जाको प्रथम अधिवेसन मार्फत समिति गठन गरिएको हो । अधिवेसनको उद्दघाटन गर्दै नेपाली कांगे्रसका नगर सभापति नेत्रप्रसाद पाण्डेले महिलाहरुको आयआर्जनको पाटोलाई बलियो बनाउने क्षेत्र ब्युटिसियन क्षेत्र बनेको भन्दै ब्युटिसियनहरुको समस्यालाई निराकरण गर्नका लागी नवगठित ब्युटिसियन संघको नेतृत्वले सहजीकरण गर्ने बताउनुभयो । महिलाहरु यस क्षेत्रमा निकै आर्कषित समेत बनेका ले ब्युटिसियन क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउँदै लैजान आवश्यक रहेको भन्दै यसका लागी सबैले हातेमालो गर्ने सभापति पाण्डेले बताउनुभयो ।
कार्यक्रममा ब्युटिपार्लर संघ केन्द्रिय उपाध्यक्ष शान्ति तिमिल्सीना, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, प्रेस युनियनका जिल्ला सभापति प्रदिप कोईराला, संघका प्रदेश निर्वतमान अध्यक्ष लक्ष्मी राना मगर, व्युटिपार्लर एशोसियसनका संस्थापक दुर्गा थापालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रथम अधिवेसनले भीरकोटकी व्युटिसियन किरण गुरुङको अध्यक्षतामा नेपाल ब्युटिसियन संघ स्याङ्जा जिल्ला कार्यसमिति गठन गरेको छ । उपाध्यक्षमा पुतलीबजारकी निरु श्रेष्ठ, सचिवमा भीरकोटकी ऋतु अर्याल, कोषाध्यक्षमा गल्याङकी पुजा श्रेष्ठ, सहसचिवमा वालिङका लक्ष्मी चापागाई खड्का, सहकोषाध्यक्षमा चापाकोटकी सबिना क्षेत्री रहनुभएको छ । त्यस्तै अरुणा थापा, भगवती गैह्रे, अप्सरा मल्ललगायत सदस्य रहनुभएको ११ सदस्यीय समिति गठन गरेको हो ।
कार्यक्रममा नवगठित संघका पदाधिकारीलाई बधाई व्यक्त गर्दै नेपाली कांगे्रस जिल्ला सदस्य शान्ता थापाले संगठित भएर आफ्नो पेशामा लाग्न आग्रह गर्नुभयो । महिलाहरु आर्थिक रुपमा बलियो हुनुपर्ने भन्दै क्षमता विकास तथा संगठानिक विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
संघका प्रदेश अध्यक्ष कल्पना कोईरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत ब्युटिपार्लर एशोसियसन स्याङ्जाका अध्यक्ष पुष्पा अर्यालले, संचालन एशोसियसनका सचिव पमिला गुरुङ र धन्यवाद केन्द्रिय उपाध्यक्ष शान्ति तिमिल्सीनाले गर्नुभएको थियो ।