समाचार
आज फागु पूर्णिमा, पहाडी क्षेत्रमा होली पर्व मनाइँदै, मर्यादित तथा सभ्य रुपमा होली पर्व मनाउन जिल्ला प्रशासनको आग्रह
रेडियो आँधीखोला
वालिङ, २२ फाल्गुन ।
आज पहाडी र हिमाली क्षेत्रमा फागु अर्थात् होली पर्व उल्लासका साथ मनाइँदै छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन छ । फागु पर्वमा एक आपसमा विभिन्न रङ्ग तथा अबिर लगाएर मनाउने चलन छ । केही वर्षदेखि रङको पर्व होली सभ्य बन्दै गएको छ । केही वर्षअघिसम्म एक हप्ता अघिदेखि नै लोला हान्ने प्रवृत्ति थियो । तर, चार पाँच वर्षयता फागु पर्वलाई अनुशासित भएर मनाउने गरिएको पाइन्छ ।
सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द भएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा मनाइन्छ ।
यसैबिच जिल्ला प्रशासन कार्यालय स्याङ्जाले मर्यादित तथा सभ्य रुपमा होली पर्व मनाउन अनुरोध गरेको छ । रंगहरुको माध्यमबाट एक आपसमा खुसी साटासाट गर्ने पर्व होलीमा शान्तिपुर्ण रुपमा भिडभाड नगरी मर्यादित, शिष्ट भई होली तथा फागू पूर्णिमा मनाउन प्रशासनले आग्रह गरेको हो । सकभर घरपरिवार तथा सानो समुहमै अनुशासित रुपमा होली पर्व मनाउन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले सम्पुर्णमा होलीको शुभकामना व्यक्त गरेको छ । जबरजस्ती अर्काको घरमा प्रवेश गरी होली नखेल्न, मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउन समेत आग्रह गरेको छ ।
त्यस्तै मोटरसाईकलमा चालकले हेल्मेट नलगाउने, दुई जना भन्दा बढि व्यक्ति सवार गर्ने,समुहमा मोटर साईकल चलाई टाफिक नियम उल्लङघन गर्नेलाई कारबाही गर्ने समेत जनाएको छ । घरको झयालमा छत, बरण्डा, आदिबाट रंग, पानी, पिच्कीरी, तथा लोला प्रहार नर्गन, सडक तथा बाटोमा हिडिँरहेका व्यक्तिलाई इच्छा उपर रंग लगाउने, अविर दल्ने, स्वास्थ्यलाई प्रतिकुल असर पोर्न विषाक्त रासायनिक पदार्थ, मोबिल, पेन्टिङ गर्ने कार्य गरेमा समेत कारबाही हुने प्रहरीले जनाएको छ ।
पर्वको नामा समुदायमा नकरात्मक असर पर्ने, शान्ति भंग गर्ने, खालका अभद्र तथा उच्छृङखल क्रियाकलाप नगर्न आग्रह गर्दै धार्मिक तथा साम्प्रदायिक सदभावमा खलल पुग्ने खालका क्रियाकलाप नगर्न आग्रह गरिएको छ । महिलालाई लक्षित गरेर इच्छा विपरित रंग तथा अविर दल्ने लोला हान्ने, पिच्कीरी हान्ने कुनै पनि किसिमको दुव्र्यवहार तथा हैरानी दिने खालका क्रियाकपाल गरेमा समेत कारबाही गर्ने प्रहरीले जनाएको छ । कुनै पनि नर्गन नगराउन भनेका क्रियाकलाप गरेको भेटिएमा कानुन अनुसार कारबाही गर्ने प्रशासनले जनाएको छ । जिल्लाको शान्ति सुरक्षा, अमनचयन, सामाजिक मेलमिलाप र भातृत्वको स्थापनार्थ सम्पुर्ण जिल्लाबासीको साथ र सहयोगका लागी समेत प्रशासनले आग्रह गरेको छ ।