समाचार
आँधीखोला सरसफाई अभियानको बाह्रौँ हप्ता, सबैको सहभागिताले सुन्दर वालिङ बन्नेछ
रेडियो आँधीखोला
वालिङ, ५ चैत्र ।
सबैको सहभागिताले वालिङ सुन्दर बन्नेछ भन्दै ऐतिहासिक तथा धार्मिक महत्व रहेको आँधीखोलाको बाह्रौँ हप्ता सरसफाई अभियान अन्र्तगत सुम्दीको रह परिसर सरसफाई गरिएको छ । वालिङका युवाहरुले आँधीखोला संरक्षण सरोकार मञ्च नै स्थापना गरि आँधीखोला सरसफाईमा जुटेको तिन महिना पुरा हुन भएको छ । स्रर्वण कुमार र उनका बाबुआमा संग जोडिएको आँधीखोलामा जथाभावी फोहोर फाल्दा खोलाको अस्तित्व संकटमा आउन थालेको भन्दै यहाँका युवाहरु एक जुट भएर हरेक हप्ता सरसफाई गर्दै आएका छन् ।
आँधीखोलामा जथाभावी फालिएका फोहोरले वातावरणीय प्रदुषण तथा खोलाको अस्तित्वमा संकट आउन थालेपछि युवाहरुले सरसफाई अभियान संचालन गर्दै आएका छन् । जनचेतनाका लागी माईकिङ तथा सचेतना रयाली समेत गरेको आँधीखोला संरक्षण मञ्चले हरेक हप्ताको शनिबार बिहान विभिन्न क्षेत्रका नागरिक तथा आम सर्वसाधरणलाई समेत सरसफाईमा सहभागि बनाउँदै आएका छन् ।
बाह्रौँ हप्ताको अवसरमा पुर्णामृत भवानी मावि विद्यालय परिवार, वालिङ उद्योग वाणिज्य संघ बगाले टोल तथा आम सर्वसाधरणको सहभागितामा सरसफाई कार्यक्रम गरिएको हो । अहिले सम्म बाह्र ट्रिपर फोहोर व्यवस्थापन गरिएको छ । नगरपालिकाको सरसफाईको ट्रिपरमा नकुहिँने प्लाष्टिक जन्य फोहोर तथा सिसा जन्य फोहोर वर्गीकरण गरी व्यवस्थापन गरिएको छ । धार्मिक महत्व बोकेको आँधीखोलालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने भन्दै यसको संरक्षणका लागी युवाहरु एक जुट भएको अभियानका संयोजक प्रकाश अर्यालले बताउनुभयो ।
सरसफाई कार्यक्रममा विभिन्न संघसंस्था, विद्यालय, आमा समुह, सुरक्षा निकाय लगायत सर्वसाधारण सहभागि हुँदै आएका छन् । सुम्दीको रह अत्याधिक जोखिम पुर्ण लेखिएको व्यानर टाँसिएको छ । गत फाल्गुन २७ गते उत्त सुम्दी रहमा डुबेर एक विद्यार्थीको निधन भएको थियो । मृतक कुशल भुषालप्रति समवेदना व्यक्तगर्दै उक्त रहमा स्टिकर राखिएको हो । खेलमैदान स्थित रहेका विभिन्न जातिय भवन वरपर विभिन्न कार्यक्रम पश्चात निस्किएका फोहोर व्यवस्थापन गर्न समेत मञ्चले आग्रह गरेको छ ।