समाचार
जातिय विभेद उन्मुलन दिवसका अवसरमा अन्तरजातिय विवाह गर्ने जोडिलाई सम्मान
रेडियो आँधीखोला
वालिङ, ८ चैत्र ।
५८औँ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवसका अवसरमा स्याङ्जामा अन्तरजातिय विवाह गर्ने जोडिलाई सम्मान गरिएको छ । अन्तरजातिय विवाह गरेकै कारण समाजबाट निस्कासन गरिएका घटनाहरु बाहिर आईरहेका बेला स्याङ्जामा अन्तरजातिय विवाह गर्ने जोडिलाई प्रोत्साहन गर्न सम्मान गरिएको हो ।
नेपाल उत्पीडित जातिय मुक्ति समाज स्याङ्जाले दिवसका अवसरमा जिल्लभरीबाट ७७ अन्तरजातिय विवाह गर्ने जोडिलाई सम्मान गरेको हो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कानुनी रुपमा जातिय विभेद गर्नु अपराध भएपनि अझै समाजमा जातिय विभेद कायमै रहेको नेकपा एमाले केन्द्रिय कमिटि सचिव पद्मा अर्यालले बताउनुभयो । साथै उहाँले संविधानमा जातिय विभेद प्रदत्त कानुनी व्यवस्थालाई कडाईका साथ पालना गर्नुपर्न भन्दै दलित मुक्तिको लागी नेकपा एमाले लागिपरेको सचिव अर्यालले बताउनुभयो ।
नेकपा एमाले जात, लिंग तथा वर्गका आधारमा गरिने सबैखाले विभेदको विरुद्धमा रहेको भन्दै समाजमा सबैलाई समान ढंगले जिवनयापन गर्ने अधिकार रहेको सचिव अर्यालले बताउनुभयो । कार्यक्रममा नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय सचिवालय सदस्य धनमाया विश्वकर्मा, पुर्व सांसद टेकु नेपाली, पुर्व सांसद मोहन रेग्मी, एमाले जिल्ला कमिटि अध्यक्ष सुर्यप्रसाद गैह्रे पारस, मुक्ति समाजका केन्द्रिय सदस्य तिलकराम विश्वकर्मा, शिक्षक संगठनका जिल्ला अध्यक्ष हिमलाल ढकाललगायतले बोल्नुभएको थियो । कार्यक्रम नेपाल उत्पीडित जातिय समाज स्याङ्जाका अध्यक्ष मेघ प्रनेशको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सुभाष खातिले गर्नुभएको थियो । जोडिलाई सम्मान पत्र र मुक्ति समाज अंकित खादाले सम्मान गरिएको हो ।
यता वालिङमा दिवसका अवसरमा जातिय विभेद विरुद्धको सचेतना गोष्ठी गरिएको छ । दलित समुदायको परम्परागत कला, सिप विकास संस्थाको आयोजनामा ५८औँ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन
दिवसका अवसरमा गोष्ठीको आयोजना गरिएको हो । कार्यक्रममा वालिङ नगरपालिका वडा नं. ८ का वडा सदस्य कविता रनपालले जातिय विभेद हटाउन राज्यको चुनौती रहेको भन्दै जातिय विभेद कानुनी अपराध भनिएपनि सामाजिक रुपमा यसको अन्त्य हुन नसकेको बताउनुभयो ।
दलित समुदायको परम्परागत कला सिप विकास संस्थाका अध्यक्ष लिलबहादुर रनपालले जातकै आधारमा गरिने विभेदका कारण दलित समुदाय पछाडि परेको भन्दै यसको अन्त्य व्यवहारिक रुपमा हुुनपर्ने बताउनुभयो । कार्यक्रममा जितबहादुर दर्जी, कृष्णकुमारी विक, गिता रनपाललगायतले बोल्नुभएको थियो । कार्यक्रम अध्यक्ष लिलबहादुर रनपालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन प्रविन परियार र स्वागत गोविन्द परियारले गर्नुभएको थियो ।