समाचार
आमा समूहद्धारा सामुहिक आलु खेति
रेडियो आँधीखोला
वालिङ, ९ चैत्र ।
स्याङ्जाको अर्जुनचौपारीका आमा समुहले सामुहिक आलु खेति थालेका छन् । गाँउमा लाहुरे आँउदा होस या विवाह, ब्रतबन्ध हुँदा आमा समुहले आफ्नो सामुहिक सांस्कृतिक कार्यक्रम गरी आर्थिक संकलन गरेर गाउँ समाजमा विभिन्न विकास निर्माण तथा समाजसेवका काम गर्दै आईरहेका छन् । ग्रामिण क्षेत्रमा जन्म, मृत्यु, विवाह जस्ता कार्यका लागी आवश्यक भाँडाहरु जम्मा गर्नेदेखि लिएर चौतारो निर्माण, समाजघर निर्माण, सडक तथा विद्यालयहरुमा समेत आमा समुहले योगदान दिँदै आईरहेका छन् ।
यसरी गाउँमा विकास निर्माण र समाज परिर्वतनका लागी महत्वपुर्ण भुमिका खेल्दै आएको अर्जुनचौपारीको शिवालय आमा समुह कृषि कर्ममा लागेका छन् । गाउँपालिकाको अनुदानमा आलुको बिउ तथा रासायनिक मल प्राप्त भएपछि शिवालय आमा समुह अहिले पहिलो पटक सामुहिक कृषि कर्ममा जोडिएका हुन् । अर्जुनचौपारी गाउँपालिका ३ आग्रीखर्कमा रहेको शिवालय आमा समुह २०५७ सालमा स्थापना भई गाउँमा सक्रिय हुँदै आएको थियो । आलु प्रर्वद्धन कार्यक्रम अन्र्तगत पुर्ण अनुदानमा दिएको बाग्लुङ ताराखोला जातको आलु लगाईएको समुहले जनाएको छ ।
आमा समुहले जग्गा भाडामा लिएर सामुहिक रुपमा आलु लगाएका छन् । यो बर्खे आलु हो । चैत्रको पहिलो हप्ता लगाईएको आलु असारमा उत्पादन लिन सकिन्छ । अनुदानमा प्राप्त ८ सय केजि आलु लगाईएको समुहकी सचिव विपना काफ्लेले बताउनुभयो । समुहमा काम गर्दा एक आपसमा ज्ञान तथा सिप आदानप्रदान समेत भएको भन्दै यसपटक लगाईएको आलु राम्रो उत्पादन भएमा फेरि जग्गा विस्तार गरि आलु लगाउने सचिव काफ्ले बताउनुहुन्छ ।
समुहकी कोषाध्यक्ष रत्ना काफ्ले भन्नुहुन्छ । ‘समुहले पहिला यसरी कृषि कार्य गरेको थिएन् । यसपटक सामुहिक रुपमा आलु लगाएका छौँ । राम्रो भएमा अझै खेति विस्तारमा हामी लाग्नेछौँ ।’ पछिल्लो समय
ग्रामिण भेगमा खेतारा नपाउने समस्या भईरहेका बेला समुहमा आवद्ध सबै एकै ठाउँमा भएर आलु खेति गर्दा निकै रमाईलो लागेको कोषाध्यक्ष काफ्लेले बताउनुभयो । त्यस्तै वराहदेवि विक समुहले समेत सामुहिक रुपमा आलु लगाएका छन् ।