अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

स्याङ्जाको वालिङ १४ कपासेस्थित ऐतिहासिक सत्र पोखरीमा भौतिक पूर्वाधार निर्माण गरेसँगै पर्यटकको आवागमन बढ्दै

news

 
आँधीखोला खबर
वालिङ, १४ चैत्र । 
स्याङ्जाको वालिङ १४ कपासेस्थित ऐतिहासिक सत्र पोखरीमा भौतिक पूर्वाधार निर्माण गरेसँगै पर्यटकको आवागमन बढ्दै गएको छ । अग्लो पहाड र सम्म परेको रमणीय भूभाग सत्र पोखरीमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको केन्द्र भएकाले यहाँ भौतिक पूर्वाधार निर्माण गरिएको हो । पूर्वाधार बिना पनि यहाँ वनभोज खाने तथा घुम्न विशेष गरी आन्तरिक पर्यटक पुग्ने गरेका थिए । आन्तरिक पर्यटकको रोजाइको स्थल बन्दै गएपछि यसलाई थप व्यवस्थित गर्न पूर्वाधार निर्माणमा जोड दिइएको वडाध्यक्ष बोधराज कुँवर (राजु) ले बताउनुभयो ।
समथर भूभाग तथा ऐतिहासिक महत्वको स्थान सत्र पोखरीलाई व्यवस्थित गर्न पूर्वाधार निर्माण गरिरहेको उहाँले जानकारी दिनुभयो । उक्त ठाउँको गुरुयोजना बनाएर काम अगाडि बढाएको र पूर्वाधार निर्माण भएसँगै थप पर्यटक आउने विश्वास उहाँको छ । गतवर्ष वालिङ नगरपालिका कार्यालयबाट रु तीन लाख खर्च गरी दुई वटा पोखरी निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट रु दश लाख विनियोजन भएको छ ।
उक्त ठाउँमा पोखरी, धारा, शौचालय, वनभोज खानका लागि ट्रस, विद्युत्, पार्क निर्माणको काम भइरहेको छ । 
यस ठाउँमा स्याङ्जासहित छिमेकी जिल्ला पर्वतका विभिन्न ठाउँबाट घुम्न तथा वनभोजलाई मानिस आउने गरेका ऐतिहासिक सत्र पोखरी पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलबहादुर थापाले बताउनुभयो । 
तीन वटा पोखरी निर्माण भएका छन् । अरु चौध वटा थप गरी यहाँको ऐतिहासिक महत्वलाई प्रचार र संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटकको केन्द्रकोरुपमा विकास गर्ने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष थापाले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...