समाचार
जन्मदिनको अवसरमा निर्वतमान वडा अध्यक्ष अधिकारीद्धारा आगोलागी पिडितलाई आर्थिक सहयोग
आँधीखोला खबर
वालिङ, २० चैत्र ।
पछिल्लो समय अनेकौं फजुल खर्च गरेर,तडक भडकका साथ जन्म दिन मनाउने प्रचलन बढ्दै गएको बेला निर्वतमान वडा अध्यक्षले भने जन्मदिनको अवसरमा आगोलागी पिडितलाई आर्थिक सहयोग गर्नुभएको छ ।
भीरकोट जेसिजका स्थापनाकर्ता भीरकोट नगरपालिका वडा नंं. ५ का निर्वतमान वडा अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण) भीरकोट ५ सिम्लेका आगोलागी पिडितलाई सहयोग गर्नुभएको हो । फाल्गुण ११ गते राति घरमा आगलागी भई लाखौं मूल्य बराबरको क्षति बेहोर्नुभएकी भीरकोट ५ सिम्लेकी गीता कुमारी खाँडको घरमा गई १० हजार १ सयसहयोग रकम हस्तान्तरण गर्नु भएको छ।
रकम हस्तान्तरण कार्यक्रममा वर्ष २०२१ का अध्यक्ष जेसी प्रसुन मगर,समाजसेवी राजकुमार गुरुङ,विदुर कोइराला, चन्द्र ध्वज खाँडलगायतको सहभागिता रहेको थियो । आफ्नो हरेक जन्म दिनको अवसरमा यसरी नै विभिन्न ठाउँमा सहयोग गर्दै आउनु भएका अधिकारीले पीडित खाँडको बसोबासको उचित व्यवस्थापन गर्न आगामी दिनमा अन्य सहयोगी दाताहरुजुटाउने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।
भीरकोट जेसिज वर्ष २०२३ का अध्यक्ष सुन्दर कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भीरकोट जेसिजका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद पौडेलले गर्नुभएको थियो ।