अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

भीरकोटको बयरघारीमा निशुल्क विषेशज्ञ सहितको शिविर सम्पन्न, झण्डै ८ सयले सेवा लिए

news

 
आँधीखोला खबर
वालिङ, १३ बैशाख ।
स्याङ्जाको भीरकोट नगरपालिका र मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पताल काठमाडौंबीच उपचारमा विशेष सहुलियत दिने सम्झौता भएको छ । नगरपालिकाकातर्फबाट नगरप्रमुख गोविन्दकुमार कर्माचार्य र अस्पतालकातर्फबाट निर्देशक डा. एन शर्माबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
 
हस्ताक्षर भएको सम्झौता पत्र आज भीरकोट १ बयरघारीमा सञ्चालन भएको निशुल्क शिविरमा अस्पतालका तर्फबाट स्त्री, प्रसुति रोग विशेषज्ञ डा. मनोरदिन सैयद र नगर प्रमुख कर्माचार्यबीच आदान प्रदान भएको हो । भीरकोट नगरपालिका भित्रका पदाधिकारी, सदस्य, कर्मचारी, निजहरुका परिवारका सदस्यहरु, गरिव तथा असाह्य वर्ग, स्थानीय वासिन्दाहरुको परिचय खुल्ने कागजातका आधारमा उपचारमा विशेष सहुलियत दिईने डा. सैयदले बताउनुभयो ।
 
“भीरकोट नगरपालिकाको सिफारिसको आधारमा यस अस्पतालबाट उपलब्ध हुने सम्पूर्ण सेवाहरु सर्वसुलभ र गुणस्तरीय रुपमा प्रदान गर्ने दुई पक्षबीच सहमति भएको छ” उहाँले भन्नुभयो, “ईएचएस र आउट सोर्सिङ सेवा बाहेकका सेवाहरु सामान्य शैया, ल्याव परीक्षण, एक्सरे एवं भिडियो एक्सरे, ईसिजीमा १५ प्रतिशत र अन्य विशेष सेवाहरु जनरल क्याविन, आईसियु तथा आईसियु भेन्टिलेटर, अपरेशन, ईको, मेमोग्राम, ईण्डोस्कोपी र फिजियोथेरापीमासमेत १० प्रतिशत छुट दिई सेवा उपलब्ध गराउँछौं ।”
 
८० वर्षदेखि माथि उमेरका ज्येष्ठ नागरिकहरुलाई ५० प्रतिशत र ७० वर्षदेखि ७९ वर्षसम्मका ज्येष्ठ नागरिकहरुलाई २५ प्रतिशत छुटको ब्यवस्था रहेको उहाँले बताउनुभयो । अस्पतालले प्रदान गर्ने सामान्य तथा विशेष स्वास्थ्य प्याकेजमा १५ प्रतिशतसम्म छुट दिने सम्झौतामा उल्लेख छ । “गरिव तथा असाह्यको सिफारिस भई आएको हकमा २० प्रतिशत छुटमा सेवा उपलब्ध गराउँछौं” उहाँले भन्नुभयो, “नगरपालिकाले आर्थिक अवस्था कमजोर भएकाहरुलाई मात्र सिफारिस गर्नुपर्ने छ ।”
 
स्वास्थ्य उपचारसँगै अस्पतालको फार्मेसीबाट औषधि खरिद गरेको खण्डमा १० देखि १५ प्रतिशतसम्म अस्पतालले छुट उपलब्ध गराउने अस्पतालका स्त्री, प्रसुति रोग विशेषज्ञ डा. मनोरदिन सैयदले बताउनुभयो ।
 
नगरपालिका र अस्पतालबीच पाँच वर्ष अवधि रहनेगरी सम्झौता भएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो । भीरकोटका बासिन्दाकालागि यो एउटा अवसर हो । नगरपालिकाको सिफारिससहित अस्पताल पुग्नुभएमा उपचारमा विशेष छुट त पाउनुहुन्छ नै त्यसको अलावा वर्षेनी यहीँ आएर विशेषज्ञसहितको निशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन हुने छ । भीरकोटका नागरिकको स्वास्थ्यका क्षेत्रमा यस सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास नगर प्रमुख कर्माचार्यको छ ।
 
शिविर सञ्चालनका अवसरमा बोल्नुहुँदै नगर उपप्रमुख भगवती अर्याल रेग्मीले नागरिकहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउनकालागि अस्पताल र नगरपालिकाबीच सम्झौता भएको र यसले आगामी दिनमा स्वास्थ्यका क्षेत्रमा उपलब्धीहरु देखिदै जाने बताउनुभयो ।
 
कार्यक्रममा नगर प्रवक्ता दिपेन्द्र केसीले आफ्नै गाउँ ठाउँमा विशेषज्ञसहितको टोलीबाट स्वास्थ्य उपचार गर्न पाउनु खुसीको कुरा भएको बताउनुभयो । नगरपालिका र अस्पतालको संयुक्त आयोजनामा भएको विशेषज्ञसहितको एकदिने निशुल्क स्वास्थ्य शिविरमा कूल झण्डै ८०० जनाले सेवा लिएका छन् । स्त्रि रोगतर्फ १८८, हाडजोर्नीतर्फ २३२, जनरल २२९ र इएनटितर्फ १३५ जनाले सेवा लिएका हुन । शिविरमा भीरकोट सहित छिमेकी पालिकाका नागरिकले समेत सेवा लिएका थिए । 
 
शिविरमा स्त्री तथा प्रसुति रोग विषेशज्ञ मनोरदिन सैयद, जनरल फिजिसियन डा. इवराज सिम्खडा, नाक कान घाँटी रोग विषेशज्ञ डा. दिवित अधिकारी, हाडजोर्नी तथा सर्जन मंगल हिराचन, सर्जन डा सुन्दर मर्हजन, सिनियर मेडिकल अफिसर डा. राजेन्द्र ढुंगाना र  डा. सुसानी बस्नेत, नसिंङ विभाग सुनिला श्रेष्ठ र मौसमी लम्साल, फामेसीमा रन्जित गिरी र अस्पताल व्यवस्थापन संजिव गिरीको टोलीले शिविरमा सेवा प्रदान गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...