समाचार
भीरकोटमा माटो परीक्षण प्रयोगशाला स्थापना भएसंगै नागरिकलाई सहज
आँधीखोला खबर
वालिङ, १४ बैशाख ।
स्याङ्जाको भीरकोटमा माटो परीक्षण प्रयोगशाला स्थापना भएसंगै नागरिकलाई सहज भएको छ । भीरकोट नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा भीरकोट २ स्थित कृषिमा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालेसंगै स्थानीय खुसी भएका नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो ।
माटोमा हुनुपर्ने तत्वहरुकाबारेमा न्यूनतम जानकारी लिन वा परीक्षण गर्न पनि पोखरा जानुपर्ने बाध्यता रहेकाले किसानलाई आफ्नै ठाउँमा सेवा उपलब्ध गराउने उद्देश्यले माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याईएको उहाँले बताउनुभयो ।
“अत्याधुनिक उपकरण जडान गरी स्थापना गरिएको प्रयोगशालाबाट माटोको अवस्थाकाबारेमा किसानलाई जानकारी दिने गर्छौं” उहाँले भन्नुभयो, “आँफूले बाली लगाएको माटोको अवस्थाकाबारेमा किसानले जानकारी पाउने र माटोमा भएका कमि कमजोरीहरुको उपचार गर्न सकिने भएकाले यो निक्कै उपयोगी हुने विश्वास हाम्रो छ ।”
नगरभित्रका ९ वटा वडाको तालिका बनाएर प्रयोगशालाबाट माटो परीक्षण गर्ने तयारीमा नगरपालिका रहेको नगर प्रमुख कर्माचार्यले बताउनुभयो ।
डिजिटल माध्यमको अत्याधुनिक उपकरणबाट माटोमा भएको पिएच तत्कालै र अन्य पक्षको अवस्था १–२ दिनभित्रै किसानलाई जानकारी दिईने कृषि शाखा प्रमुख किसान अर्यालले बताउनुभयो । “माटोसम्बन्धि विभिन्न १२ वटा प्यारामिटरको परीक्षण प्रयोगशालामा हुन्छ” उहाँले भन्नुभयो, “माटोमा भएको कमि कमजोरीहरुकाबारेमा जानकारीसहित उपचार विधिकाबारेमा सुझाव तथा परामर्श दिने गरिएको छ ।”
भीरकोटमा माटो परीक्षण प्रयोगशाला नहुँदा यहाँका किसानहरु माटोको नमूना लिएर पोखरा जानुपर्ने बाध्यता थियो । परीक्षण गर्न समय लाग्ने गरेकाले तत्कालै नतिजा नआउने र ढिलो गरी आउँदा किसानहरु बालीनाली लगाउन समय घर्किसक्ने हैरानीमा थिए । अहिले माटो परीक्षण प्रयोगशाला भीरकोटमै सञ्चालनमा आएसँगै किसानहरुलाई राहत मिलेको छ ।