समाचार
भिरकोट नगरपालिकाद्धारा श्रम स्वीकृतिको शुभारम्भ
आँधीखोला खबर
वालिङ, १५ बैशाख ।
वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूले स्थानीय तहबाटबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिसम्बन्धि सेवा प्रवाह हुने व्यवस्था भएसँगै स्थानीय तहहरूले श्रम स्वीकृति दिन थालेका छन्। बुधबार भीरकोट नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले नगरपालिका वडा नं ५ निवासी सन्तोष थापालाई पुनः श्रम स्वीकृति प्रदान गरी सेवाको शुभारम्भ गर्नुभएको हो ।
वैदेशिक रोजगारीमा साउदी अरब जान लागेका थापालाई पालिकाबाटै पहिलो श्रम स्वीकृति सेवा प्रदान गरिएको रोजगार संयोजक वसन्त कुमार बस्नेतले बताउनुभयो । पालिकामार्फत अहिलेसम्म ४ जनाले श्रम स्विकृतिका लागि आवेदन दिएको र सेवा प्रवाह सम्बन्धी जानकारी लिन आउने सेवाग्राहीको संख्या बढीरहेको रोजगार संयोजक बस्नेतले जानकारी दिनुभयो ।
यस अघि श्रम स्वीकृति लिनको लागि वैदेशिक रोजगार विभाग वा प्रदेश स्थित श्रम कार्यालय जानुपर्ने बाध्यता थियो । तर श्रम स्विकृतिका लागि अनलाइन प्रणालीको सुरूवात भए पश्चात् स्थानीय तहबाटै वैशाख १ गतेदेखि उक्त सुविधा प्राप्त हुन थालेको हो ।
श्रम स्वीकृति लिनको लागि राहदानी , एक प्रती पासपोर्ट साइज फोटो, पारिवारिक विवरण , बैंक खाता (चेक प्रती सहित) ,व्यक्तिगत इमेल आइडी र सम्पर्क मोबाइल नम्बर, रोजगारदाताले दिएको सम्झौता पत्र , भिजाको प्रतिलिपी सहित स्थानीय तहको रोजगार सेवा केन्द्र निशुल्क अनलाइन आवेदन दिन सकिने रोजगार संयोजक बस्नेतले जानकारी दिनुभयो ।
वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा रकम बापत तिर्नुपर्ने शुल्क तोकिएको बैंक खातामा दाखिला गरेपछि श्रम स्वीकृति प्रक्रिया अगाडि बढ्ने र श्रम स्वीकृति पत्र अनलाइनबाटै प्राप्त हुन्छ। आवेदन स्वीकृत भएको वा आवश्यक विवरणहरू अपुग भएको जानकारी पनि अनलाइन मार्फत नै सम्बन्धित सेवाग्राहीले प्राप्त गर्न सक्छ्न ्। श्रम स्वीकृति सम्बन्धमा थप जानकारी स्थानीय तहको रोजागार सेवाकेन्द्रबाट लिन सकिन्छ ।