समाचार
छोरीको जन्मदिनको अवसरमा सरसफाईका सामान वितरण
आँधीखोला खबर
वालिङ, १७ बैशाख ।
वालिङ ११ का राजन पंगेनीले आफनो छोरीको जन्मोत्सवका अवसरमा क्लबलाई सरसफाईका सामानहरु उपलब्ध गराउनुभएको छ । छोरी रियाना पंगेनीको जन्मोत्सवको अवसरमा डौँवा युवाक्लब वालिङ ११ लाई सरसफाईका सामानहरु उपलब्ध गराउनुभएको हो । पछिल्लो समय जन्मदिनको अवसरमा फजुल खर्च गर्ने प्रवित्ति बढिरहँदा पंगेनीले भने समाज सुधारका लागी गठित क्लबलाई उक्त सामानहरु उपलब्ध गराउनुभएको हो ।
कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष डण्डपानी पंगेनीले सरसफाईका लागी उपलब्ध गराईएको समानहरुको सहि उपयोग गरी फोहोर हुने स्थानहरुमा उक्त डष्टविन राखि वडालाई सफा राख्न मद्दत पुग्ने बताउनुभयो । समाज सुधारका लागी स्थानीय क्लब, विभिन्न समुहहरुको समेत उत्तिकै भुमिका रहेको भन्दै क्लबलाई सकरात्मक कार्यमा लाग्न अनुरोध गर्नुभयो ।
साथै जन्मदिनका अवसरमा कुनै न कुनै रचनात्मक कार्य गर्नुपर्ने भावनाको विकास गर्नका लागी पनि यो प्रयास निकै राम्रो रहेको बताउनुभयो । कार्यक्रममा क्लबका अध्यक्ष बद्री पंगेनीले समाज सेवाका लागी क्लब गठन गरिएको भन्दै समाजलाई सुसंस्कृति बनाउनका लागी क्लब प्रतिवद्ध रहेको बताउनुभयो । क्लबको अगुवाईमा उक्त टोलमा हरेक शनिबार सरसफाई समेत गरिएको छ ।