समाचार
मनोसामाजिक तथा अपाङ्गता सम्बन्धी सार्वजनिक बहस सम्पन्न
आँधीखोला खबर
वालिङ, १७ बैशाख ।
स्याङ्जाको वालिङ नगरपालिकाले अपाङ्गता सम्बन्धी सार्वजनिक बहस कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको सभाहलमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गता सम्बन्धी सार्वजनिक बहस सम्पन्न भएको हो । नगरपालिकाको आयोजना तथा अन्तरध्वनी नेपालको सहकार्यमा सार्वजनिक बहस कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह«ेले समृद्ध नगर र सुखी नगरबासी अभियानमा सबै नागरिकहरु एकजुट हुनुपर्ने बताउनुभयो । नगर विकासको लागि मानसिक रुपमा नगरबासी तयार हुनुपर्ने उल्लेख गर्दै नागरिकको स्वास्थ्य र आय आर्जन सबल बन्नुपर्नेमा उपप्रमुख तिवारीले जोड दिनुुभयो ।
हरेक महिनाको ५ गते अपाङ्गता परिचयपत्र वितरण गर्दै आइरहेको जानकारी दिँदै उपप्रमुख तिवारीले नगरको कार्यविधिले अपाङ्गता परिचयपत्र वितरणमा असहज भएको बताउनुभयो । नगरपालिकाले जारी गरेको कार्यविधिलाई परिमार्जन गरेर मात्र अपाङ्गता परिचयपत्र वितरण सहजहुने उहाँले विचार व्यक्त गर्नुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारका कार्यक्रममा जोड्ने गरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।