समाचार
घरघरमै पुगेर भेटघाट सहित खाद्य सामाग्री बितरण अभियान
आँधीखोला खबर
वालिङ, १९ बैशाख ।
पुतलीबजार नगरपालिका वडा नं. ११ ले अपांगता भएका ब्यक्तिलाई घरघरमै पुगेर भेटघाट सहित खाद्य सामाग्री बितरण अभियान आजदेखि सुरु गरेको छ । पुतलीबजार नगर उपप्रमुख देवी अर्यालले बगालथोक स्थित मुना अर्याल सहित उनका ३ दिदीवहिनीलाई खाद्य सामाग्री प्रदान गर्दै अभियानको सुरु गर्नुभएको हो । खाद्य सामाग्री हस्तान्तरण गर्दे उपप्रमुख अर्यालले संघिय सरकारले उपलब्ध गराउदै आएको आर्थिक सहयोगसंगै वडा कार्यालयले फरक क्षमताका ब्यक्तिलाई घरघरमै पुगेर गरेको भेटघाट सहितको सहयोग कार्यक्रम उदाहरणीय भएको बताउनुभयो ।
यस्ता सामाजिक कार्यको अन्य वडाहरुले पनि अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो । फरक क्षमताका उहाहरुलाई प्रति ब्यक्ति एक क्रेट अण्डा, चना, हर्लिक्स÷च्वावनप्रास सहितको खाद्य सामाग्री प्रदान गरिएको छ । वडाभित्रका पूर्ण र आंशिकगरी २७ जना अपांगता भएका ब्यक्तिलाई भेटघाट सहित सहयोग गर्ने लक्ष्य रहेको वडा अध्यक्ष मनोज पौडेलले जानकारी दिनुभयो ।
निर्वाचनका बेला गरिएका प्रतिवद्धता क्रमशः पुरा गर्ने अभियानमा लागेको उहाले बताउनुभयो । वितरण कार्यक्रममा वडा सदस्य संजीता अर्याल, वडा सचिव बेलबहादुर थापा लगायतले फरक क्षमताका ब्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा सकारात्मक भाव ल्याउन समेत यस्ता कार्यक्रम प्रभावकारी हुनेमा जोेड दिनुभयो ।