अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

अबको दुई/तीन घण्टामा अवरुद्ध पृथ्वी राजमार्ग खुलाउने प्रयास, यात्रुले गाडीमै बसेर रात बिताए

news

 

बैशाख १९,  काठमाण्डाै - सडक भासिएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ । हिजो  दिउँसो ४ बजे धादिङको धार्केमा गणेश खोला पुलको सडक भासिएपछि पृथ्वी राजमार्ग ठप्प छ । हिजो बेलुकादेखि नै सडक खुलाउने प्रयास भइरहे पनि साँघुरो ठाउँ भएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

रातभर काम गरे पनि साँघुरो सडक भएका कारण समस्या भएको धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । उहाँका अनुसार सेना, प्रहरी, सडक विभाग लगायतको प्रयासमा सडक खुलाउने प्रयास भइरहेको छ । अबको दुई–तीन घण्टामा सडक खुलाउने गरी काम भइरहेको उहाँले उज्यालोलाई बताउनुभयो ।

‘दुई/तीन घण्टामा सकेसम्म दुईतर्फी नभए एकतर्फी भए पनि सडक खुलाउँछौँ’, उहाँले भन्नुभयो – ‘साँघुरो ठाउँ भएकाले उपकरण र जनशक्ति भए पनि सडक खुलाउन समय लागेको हो’ भासिएकाे सडकमा माटाे भर्ने लगायतका काम भइरहेकाे छ । 

हिजो दिउँसोदेखि नै सडक ठप्प हुँदा यात्रुको भने बिचल्ली भएको छ । लामो दूरीका गाडी चल्ने मुख्य राजमार्ग भएकाले लामो दूरीका यात्रु अलपत्र परेका छन् । कोही नजिकै रहेका आफन्तकोमा गए पनि धेरैजसोले गाडी भित्रै बसेर रात कटाएका प्रहरीले जनाएको छ । ‘हामीले उहाँहरुलाई परेका अप्ठ्याराका विषयमा जानकारी र सोधीखोजी त गर्ने प्रयास गर्यौँ तर पनि सबै समस्या समाधान गर्न सम्भव हुने भएन, विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई अलि बढी गाह्राे भएको पायौँ’ – प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले भन्नुभयो  । 

उहाँका अनुसार अबको केही घण्टापछि सडक खुले पनि आज दिनभरजसो नै यो क्षेत्रमा चाप पर्ने सम्भावना छ । सडकको दुईतर्फी नै गाडीको लामो लाइन लागेकाले लामो जाम छ । काठमाण्डौबाट रातको समयमा छुट्ने मालवाहक गाडीको लाइन कलङ्कीसम्म नै छ । 

पृथ्वी राजमार्ग भएर ६८ जिल्लाबाट दैनिक हजारौँ सङ्ख्यामा गाडी र यात्रु आवतजावत गर्छन् । सडक  भासिएपछि प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । पूर्व पश्चिमबाट काठमाण्डौ भित्रने र काठमाण्डौबाट बाहिरिने साना ठूला गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो ।

हेटौँडा काठमाण्डाै र काठमाण्डाै नुवाकोट गल्छीको बाटोलाई वैकल्पिक बाटोका रुपमा लिन सकिन्छ । प्रहरीका अनुसार धादिङ, नुवाकोट र रसुवाबाट काठमाण्डौ भित्रने र बाहिरिनेले नुवाकोटको त्रिशूलीबाट छहरे–ढिकुरेको सडक प्रयोग गर्न सक्नेछन् । यस्तै, पूर्व पश्चिमबाट काठमाण्डौ आउजाउ गर्नेले हेटौँडा हुँदै दामन–पालुङबाट नौबिसे निस्कने बाटो प्रयोग गर्न सक्नेछन् । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...