समाचार
हरिनासमा पशु स्वास्थ्य शिविर
रेडियो आँधीखोला,
वालिङ २३ बैसाख ।
स्याङ्जाको हरिनास गाउँपालिकामा पशु स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । हरिनास गाउँपालिकाको वडा नम्वर ६, दग्दीमा शुक्रबार एकदिने पशु स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्ट्क एसोसियसन (नेभ्ला) जिल्ला कार्यसमितिको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।
कार्यक्रममा गाउँ पालिकाका उपाध्यक्ष इन्द्राकुमारी थापा रानाले मानिसको जस्तै पशुको पनि बेला बेलामा स्वास्थ्य परीक्षण गर्न आवस्यक रहेको बताउनुभयो । दूध तथा मासुका लागि पालिदै आएको पशुहरु स्वस्थ भए हाम्रो स्वास्थ्यमा पनि लाभ हुने उपाध्यक्ष रानाले उल्लेख गर्नुभयो । पशुहरुले खान खाए नखाएको, उनिहरुको चालचलन र दैनिकीका बारेमा ध्यान दिन सकियो भने स्वास्थ्य समस्याका बारेमा ध्यान दिन उहाँको सुझाव छ । उहाँले यदि पशुहरुमा सधैंजसो भन्दा फरकपन वा असहजता भएको देखिएमा नजिकको पशु चिकित्सकसँग परामर्श गरी उपचार गर्न आग्रह गर्नुभयो ।
शिविरमा २ सय ३२ जना किसानका ४ सय ७६ पशुहरुको उपचार गरिएको थियो । गाई, भैसी, बाख्रा, कुकुर, बिराले तथा कुखुरालगायत पशुपंक्षीको गोबर एवम् स्वास्थ्य परीक्षण गरिएको थियो । गोबर जाच, दूध परीक्षण, पशुु उपचार सेवा, बम्ध्याकरण, रेबिज खोप तथा पसु पालन सम्बन्धी आवस्यक परामर्श दिइएको थियो । १५ जना प्राविधिकले शिविरमा सेवा प्रदान गरेका थिए ।
प्राविधिकहरुका अनुसार गोबर परीक्षण गर्दा अधिकांसमा नाम्ले तथा पारामफिस्टोम ( गहते किरा) को प्रकोप देखिएको थियो । शिविर वडा कार्यालयको व्यवस्थापनमा सम्पन्न गरिएको हो ।