समाचार
वालिङ क्याम्पस प्रकरण ः प्राध्यापकहरुबाट बिशेष साधरणसभाको माग
आँधीखोला खबर
वालिङ, १३ जेठ ।
वालिङ बहुमुखी क्याम्पस संचालक समितिले क्याम्पसलाई आर्थिक संकटकाल घोषणा गरेपछि प्राध्यापकहरु असन्तुष्ट देखिएका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल वालिङ बहुमुखी क्याम्पसले संचालक समितिले कुनै अध्ययन, प्रक्रिया र सरोकारवालाहरु सगँ छलफल, बहस बिना क्याम्पसलाई आर्थिक संकटकाल घोषणा गरिएको भन्दै असन्तुष्टी जनाएका हुन ।
प्राध्यापक संघले क्याम्पसको दिर्घकालिन रुपमा समस्या समाधान गर्ने तर्फ चासो दिनभन्दा आर्थिक संकटकाल घोषणा गरेर एक एतिहासिक शैक्षिक संस्थाको बन्दाम गराउने तर्फ अग्रसरता देखाएको आरोप लगाउदै ५ बुँदे विभिन्न माग राखेर ध्यानाकर्षण पत्र बुझाएको छ । संघका अध्यक्ष छविलाल अर्यालबाट हस्ताक्षरीत गरिएको ध्यानाकर्षणपत्रमा क्याम्पसका समस्याहरु समाधानका लागि अविलम्व बिशेष साधरणसभाको आव्ह्रान गर्न माग गरिएको छ ।
विगत केही बर्षदेखी संचालक समितिको एकलौटी, अदुरदर्शि र गलत नियत राखेर क्याम्पसलाई आर्थिक व्यायभार बनाउने कार्य गर्दा क्याम्पसमा आर्थिक संकट परेको आरोप उनीहरुको छ । क्याम्पसमा आर्थिक संकट आउदा क्याम्पस संचालक समिति, प्राध्यापक, विद्यार्थी, स्थानीय राजनीतिकदल, साधरणसदस्यहरु लगायत क्याम्पससगँ सरोकार राख्ने सबैसगँ सल्लाह, सुझाब र सहभागिता बिना आर्थिक संकटकाल घोषणा गरिनुले संचालक समितिमा गैह्र जिम्मेवार र परिपक्कता नदेखिएको ठहर प्राध्यापक संघले जारीगरेको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
प्राध्यापक संघले ध्यानाकर्षणपत्र मार्फत प्राध्यापक र कर्मचारीको हालसम्मको पारिश्रमिक भुक्तानीमा संचालक समिति जिम्मेवार नदेखिएको, अध्ययन, प्रक्रिया बिना गैरकानुनी हिसाबले घोषणा गरेको आर्थिक संकटकाल तुरुन्त फिर्ता गर्नुपर्ने, प्राध्यापक र कर्मचारीको मनोबल गिराउने र आतंकित बनाउने कार्य बन्द गर्नुपर्ने, क्याम्पसको प्रतिष्ठामा आँच आउनेगरी संचालक समितिका जिम्मेवार व्याक्तिबाट मिडियाबाजी र अनर्गल अभिव्याक्ति दिने माथी तुरुन्त छानविन गरि कारवाही गर्नुपर्ने लगायतका माग ध्यानाकर्षणपत्रमा उल्लेख छन् ।
प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष छविलाल अर्यालले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्रमा उल्लेखित मागप्रति यथाशिघ्र सम्बोधन गर्न अनुरोध गर्दै यसमा अन्यथा भएमा संघ एकाई चरणवद्ध रुपमा थप कठोर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने चेतावनी समेत दिइएको छ । क्याम्पस संचालक समितिले बैशाख २३ कार्तिक मसान्त सम्मका लागि आर्थिक संकटकाल घोषणा गरेको थियो । आर्थिक संकटकाल घोषणा गरेको खबर बाहिर आएपछि नेपालकै जेठो सामुदायीक क्याम्पसमा यस्तो समस्या कसरी आयो भन्ने बिषयमा सुक्ष्म छानबिन हुनुपर्ने स्थानीयले आवाज उठाउदै आएका छन् ।