समाचार
वालिङ गह«ौं प्राथमिक अस्पतालमा सुत्केरीको शल्यक्रिया सेवा सुरु
आँधीखोला खबर
वालिङ, १७ जेठ ।
स्याङ्जाको वालिङस्थित गह«ौं प्राथमिक अस्पतालले सुत्केरीको शल्यक्रिया सेवा सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभाग, वालिङ नगरपालिका लगायतको सहयोगमा आधुनिक उपकरणहरु जडान गरी आजबाट सेवा थालिएको हो । अस्पतालमा आएका प्रसुतिसम्बन्धी शल्यक्रिया गर्नपर्ने देखिएमा अन्यत्रै पठाउनुपर्ने बाध्यता हटेको अस्पतालका प्रमुख डा. सुरज ढकालले बताउनुभयो । प्रसुतिसम्बन्धी शल्यक्रिया गर्न पर्नेभएमा यसअघि अन्यत्रैका अस्पतालमा पठाउँदै आएतापनि अब भने यहीँबाट सेवा दिन सकिने उहाँले बताउनुभयो ।
जिल्लाको मध्यभागमा रहेको सबैभन्दा धेरै बिरामीहरुको चाप हुने यस अस्पतालले अन्य नियमित सेवाहरुसँगै अब प्रसुतिसम्बन्धी शल्यक्रिया गर्ने सेवा सुरु गरेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताउनुभयो । शल्यक्रियामार्फत सुत्केरी सेवा थप गरेसँगै यहाँका महिला दिदीबहिनीहरु अब टाढा–टाढा जान नपर्ने भएको हो । टाढा जान नपर्ने भएपछि महिलाहरुलाई राहत हुनुकासाथै खर्च र समयको पनि वचत हुने भएको छ । अस्पतालले बिरामीहरुको चापलाई मध्यनजर गरी सेवाहरु विस्तार गर्नुकासाथै जनशक्ति तथा उपकरणहरु थप गर्दै गएको छ ।
सुत्केरी, हर्निया, एपेडिक्सको शल्यक्रिया सेवा थप भएसँगै अब आँखा, दाँतसम्बन्धी शल्यक्रियाहरु विस्तार गर्दै लगिने ब्यवस्थापन समितिका अध्यक्ष खाँणले बताउनुभयो ।
अस्पतालमा दैनिक तीनदेखि चार सय जना बिरामीहरु उपचारकालागि आउने गरेका छन् । वालिङमै शल्यक्रियासम्बन्धी सुविधा थपिएपछि अन्यत्र रिफर गर्नुपर्दैन । वालिङसहित स्याङ्जाका भीरकोट, गल्याङ, कालीगण्डकी, चापाकोट तथा दक्षिणी पर्वत, पाल्पाका केही भागका नागरिकहरुले यस अस्पतालबाट स्वास्थ्यसम्बन्धी सेवा लिंदै आएका वालिङ नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो ।
अस्पतालले पहिलो पटक सुरु गरेको शल्यक्रिया सेवालाई आगामी दिनमा अझै ब्यवस्थित र गुणस्तरयुक्त बनाउन नगरपालिकाले सहयोगलाई निरन्तरता दिंदै जाने प्रमुख खाँणले बताउनुभयो ।
वालिङका नागरिकहरुलाई यो एउटा ऐतिहासिक र खुसीको क्षण हो ।
यसलाई अझै ब्यवस्थित र दीगो बनाउन थप उपकरण तथा जनशक्ति ब्यवस्थापनमा सहयोग गर्ने वालिङ नगर प्रमुख कृष्ण खाँणको भनाई छ ।
यहाँ शल्यक्रिया सेवा नहुँदा महिलाहरुलाई पोखरा, पाल्पा, काठमाडौं लगायतका शहरमा रहेका अस्पताल लैजानुपर्ने बाध्यता थियो । हतार हतारमा एम्बुलेन्समा राखेर टाढाका अस्पतालमा लैंजादा महिलाहरुमा पीडा हुने, सुत्केरीपश्चात टाढाबाट आउनुपर्दा समस्या हुने गरेको थियो भने सुत्केरी हुनु केही दिन पहिलेदेखि टाढाको अस्पताल गएर बस्नुपर्ने समस्या थियो ।