समाचार
कुराभन्दा पनि काम गरेर देखाउछु ः मन्त्री गुरुङ
आँधीखोला खबर
वालिङ, २० जेठ ।
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अबको बाटो सुशासनको भएको बताउनुभएको छ । नेपाली कांग्रेस प्रथम भीरकोट नगर सम्मेलनलाई आज स्याङ्जाको बयरघारीमा सम्बोधन गर्नुहुँदै उहाँले भ्रष्टाचारीहरुलाई कारवाही गर्नुपर्नेमा जोड दिनुभयो । “भ्रष्टाचारी प्रवृत्ति भएका जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ, कारवाही हुनैपर्छ” उहाँले भन्नुभयो, “अनुसन्धानलाई अझै प्रभावकारी ढंगले अगाडि बढाऔं, दोषी कोही उम्किन नपाउन् ।”
भुटानी शरणार्थी लगायतका फाईलहरुमा प्रधानमन्त्रीलाई साथ दिएको दावी गर्नुहुँदै उहाँले प्रधानमन्त्रीलाई खुट्टा नकमाउन सुझाव दिएको बताउनुभयो । “भ्रष्टाचार प्रवृत्तिको अन्त्य गर्दै देशलाई अब सुशासनको बाटोमा लैजानु आवश्यक छ” उहाँले भन्नुभयो, “देशमा सुशासन भएको प्रत्याभूति जनतालाई दिनुपर्ने भएकाले अब बोलेर हैन कामबाट देखाउनुपर्ने बेला आएको छ ।”
राजनीतिक नेतृत्वमा रहेका ठूला नेताहरुको सम्पत्ति छानविन गर्नुपर्ने आवाज आँफूले पटक पटक उठाएको दावी गर्नुभयो । सम्पत्ति छानविन सबैभन्दा पहिला आँफैबाट सुरु गर्न पनि उहाँले सार्वजनिक स्थलमा उद्घोष गर्दै आउनुभएको छ । “अबको मिसन भनेकै सुशासन कायम गर्नु हो” उहाँले भन्नुभयो, “म त्यो मिसनमा कत्ति पनि विचलित नभईकन अगाडि बढ्छु, मिसन अगाडि बढाउँदा थाहा छैन मन्त्री पदबाट हटम्ला तर मिसनबाट पछाडि हट्दिन ।”
राष्ट्रपति कार्यालयमा होल्ड भएर रहेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको उहाँले बताउनुभयो । नागरिकता विधेयकले आमाको नामबाट नागरिकता नपाएका, बाबु आमा नेपाली नागरिक भएर पनि छोराछोरीले नागरिकता नपाएका र गैर आवासीय नेपालीले नेपालको नागरिकता पाउने तर राजनीतिक नेतृत्व गर्न नपाउने गरी तीनवटा कुराहरु समेटिएको उहाँले बताउनुभयो । सुनौली पोखरा जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नतिका विषयमा आँफू सम्वेदनसिल रहेको बताउनुहुँदै कुराभन्दा पनि कामबाट देखाउने दावी गर्नुभयो ।
प्रतिनिधिसभा सदस्य राजु थापाले भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कारवाही गर्नुपर्ने बताउनुभएको छ । भ्रष्टाचारको आरोप लागेका कसैलाई पनि कांग्रेसले नबोक्ने र दोषी ठहरिएमा कारवाही भएरै छाड्ने बताउनुभयो । भ्रष्टाचारीलाई कांग्रेसले ढाकछोप गर्ने, बोक्ने होईन बरु अनुसन्धान प्रक्रियामा सघाउने उहाँले बताउनुभयो । नागरिकता विधेयक अहिलेको आवश्यकता भएको दावी गर्नुहुँदै यसकाबारेमा पढेर, बुझेरमात्रै गाउँ गाउँमा रहेका नागरिकहरुलाई बुझाउन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद भोजराज अर्याल, भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्य, नेपाली कांगे्रस जिल्ला प्रवक्ता भरत लम्साल, भीरकोटका निर्वतमान नगरप्रमुख छायाराम खनाल, नगरप्रवक्ता दिपेन्द्र केसीलगायतले बोल्नुभएको थियो । कार्यक्रम नगर सभापति यामप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत उपसभापति जगदिश कोईराला र संचालन सचिव तारा अर्यालल गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश, जिल्ला, क्षेत्र, नगर तहका नेता कार्यकर्ताहरुले आ–आफ्नो सुझावा तथा जिज्ञासा राखेका थिए ।