समाचार
गल्याङको गौधाममा गाई पाल्न समस्या
आँधीखोला खबर
वालिङ, २० जेठ ।
स्याङ्जाको गल्याङ नगरपालिका–११ बन्नेडाँडास्थित कृष्णगण्डकी आलमदेवी गौधाम एवम् आध्यात्मिक चिन्तन संस्थामा रहेका गाई पाल्न समस्या हुँदै गएको छ । गोठ र चरन क्षेत्र गरी ११ रोपनी क्षेत्रफलमा फैलिएको गौधाममा लोपोन्मुख स्थानीय जातका १९ काठे गाई छन् । गोठाला खर्च, गाईका लागि घाँस, पराल, गोठ तथा चरन क्षेत्रको अभाव भएपछि समस्या हुँदै गएको हो । कृष्णगण्डकी आलमदेवी गौधाम व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष नारायण ढकालले सोचेजस्तो सहयोग नआउँदा गाईपालनमा समस्या थपिँदै गएको बताउनुभयो ।
“धार्मिक र चिकित्सकीय हिसाबले गाई महत्वपूर्ण भए पनि पछिल्लो समय हेलाको विषय बनेको छ”, उहाँले भन्नुभयो, “दिनमा पाँच÷सात जनाको गाई पाल्दिनुप¥यो भनेर फोन आउँछ, गौपालक कर्मचारीलाई तलब व्यवस्थापन, गाईको आहार र चरन क्षेत्रको समस्या भएकाले थप गाई राख्न सकेका छैनौँ ।”
स्थानीय तहको अघिल्लो सरकार हुँदा रु एक लाख र नयाँ सरकार आएपछि गौधामका लागि रु दुई लाख सहयोग प्राप्त गरेको उहाँले बताउनुभयो । ढकालले दुईजना कर्मचारीको मासिक तलब रु १५÷१५ हजार नगरपालिकाले व्यवस्थापन गरिदिए गौधाम सञ्चालनको जटिलता केही अन्त्य हुने सुनाउनुभयो । उहाँले गाई संरक्षणका लागि प्रदेश सरकारसँग पनि सहयोगको माग गरेको बताउनुभयो ।
हाल आजीवन सदस्य बनेका र दाताले दिएको रकम तथा घाँस परालले गौधाममलाई जसोतसो चलाएको उहाँले बताउनुभयो । गाई गौधाममा ल्याउनेलाई आजीवन सदस्य बनाएर रु पाँच हजार एक सय लिने प्रावधान बनाइएको छ । त्यसले पनि थोरै सहयोग गरेको छ । दाताबाट सोचेजस्तो सहयोग नआउँदा गाई संरक्षणमा समस्या भएको गौशालामा काम गर्दै आउनुभएका महेश कुँवरले बताउनुभयो ।
नगर उपप्रमुख हेमा न्यौपानेले गौ संरक्षणका लागि विगतका वर्षमा पनि नगरपालिकाले बजेट विनियोजन गरेर काम गरेको बताउनुभयो । उहाँले संरक्षण गरेका स्थानमा भएका जटिलताको अध्ययन गरेर आउने दिनमा समस्या समाधानका लागि पहल र प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।