अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

बाँदर र खडेरीको दोहोरो मारमा स्याङ्जाका कृषक

news

 
आँधीखोला खबर
वालिङ, २६ जेठ ।
लामो समयको खडेरीले खेत बारीमा रहेका मकै सुक्न थालेपछि यहाँका कृषक चिन्तित बनेका छन् । जेठको अन्तिम साता आईसक्दा पनि प्रयाप्त रुपमा वर्षा नहुँदा मकै उत्पादन घट्ने भन्दै स्याङ्जाका कृषक चिन्तित बनेका हुन् । 
खेतमा रहेका मकैले घोँगा हालिसकेका छन् भने बारीका मकै एकोहोरो गोडमेल गरी दोहोरो गोडमेल गर्ने समय हुँदा पनि वर्षा नहुँदा कृषक मर्कामा परेका हुन् । विषेश गरी यतिबेला मकै खेतिलाई खडेरीले असर गरेको छ भने लहरेबाली तथा नगदेबालीलाई समेत असर गरेको छ । घोँगा लागेका मकै र बारीका धानचमरा निस्केका मकै खडेरीले ओईलाउन थालेको भन्दै पुतलीबजारकी पार्वती रानाले चिन्ता व्यक्त गर्नुभयो । खडेरीसंगै बाँदर आतंकले मकै उत्पादनमा कमी आउने र लहरेबालीमा समेत उत्पादन कम भएको पार्वतीले बताउनुभयो । 
राङखोला स्थित रहेका खेतबारीमा मकै कुरुवा पालैपालो बस्नुपर्ने बाध्यता रहेको उहाँको गुनासो छ । खडेरीको प्रचण्ड गर्मी नभनीकन घोँगा लागेको मकै बाँदरबाट जोगाउन उहाँका पारिवार पालैपालो बाँदर कुर्ने गर्नुहुन्छ । खडेरीका कारण लहरेबारी बोडा, बोडी, करेला, घिरौँला, लौका, काँक्रो जस्ता तरकारीहरुले सोँचेअनुसारको समेत उत्पादन दिन नसकेको उहाँको भनाई छ । कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले पनि कार्यालयमा दिनहुँजसो बाँदर आतंकका बारेमा कृषकहरुको फोन आउने गरेको बताउनुभयो । 
प्रमुख हमालले भन्नुभयो,‘कृषकहरु दिनहुँजसो बाँदार धपाउने मान्छे पठाईदिनु न सर भनेर फोन गर्नुहुन्छ । बाँदरले अन्नबालीसंगै घरमा एक्लै रहेका बालबालिका समेत जोखिमा परेका समेत हामीलाई खबर आउने गरेको छ ।’ यतिबेला कृषकहरु बाँदर र खडेरीको मारमा परेको उहाँको भनाई छ । यस्तै खडेरी अवको एक हप्तासम्म रहे मकै उत्पादनमा कमी आउने प्रमुख हमालको भनाई छ । 
यो खडेरीले अन्य फलफुलमा असर नगरेपनि मकै खेतिलाई असर गरेको उहाँले बताउनुभयो, ‘यो खडेरीका कारण मकै .खेतिलाई असर गरेको छ । दिउँसोको घामले मकै ओईलाएझैँ देखिएका छन् । रातिको शितलताले फेरि हरियो देखिन्छन । यस्तै लामो खडेरी रहेमा मकै उत्पादन ५ देखि ९ प्रतिशत सम्म कमी हुन सक्छ ।’ अर्को वर्षका लागी कृषि तथा भुमि व्यवस्था मन्त्रालयमा बाँदर व्यवस्थापनको लागी कृषि ज्ञान केन्द्रले प्रस्ताव पेश गरेको प्रमुख हमालले बताउनुभयो । मन्त्रालयले बजेट विनियोजन गरेमा केन्द्रले बाँदर व्यवस्थापनका लागी कार्यक्रमहरु गर्नेछ ।
जिल्लामा धान रोपाइँ भने शुरु हुन थालेको छ । जिल्लाका धान खेति हुने भुभाग १८ हजार हेक्टर मध्ये १ हेक्टरमा मात्रै रोपाईँ शुरु भएको छ । यो खडेरीले धान रोपाँईलाई भने तत्काल कुनै असर नगर्ने भए पनि मकैलाई भने निकै असर गरेको छ । विगतकेहि दिनदेखि बढेको तापक्रमले जिल्लाको जनजिवन प्रभावित बनेको छ । निकै व्यस्त रहने वालिङ बजारलगायत स्थानीय बजार समेत गर्मी बढेसंगै सुनसान बन्न थालेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...