समाचार
गल्याङमा ब्याडमिण्टन कभर्ड हलको शिलान्यास
२९ जेठ ।
स्याङ्जाको गल्याङमा ब्याडमिण्टन कभर्ड हलको आज शिलान्यास गरिएको छ । गण्डकी प्रदेश, खेलकुद मन्त्रालय र गल्याङ नगरपालिकाको आर्थिक सहयोगमा कभर्ड निर्माण थालिएको हो ।
कभर्ड हल निर्माण गर्न गण्डकी प्रदेश सरकारको ४० लाख, खेलकुद मन्त्रालयको ८ लाख र गल्याङ नगरपालिकाबाट विनियोजित ५ लाख गरी कूल ५३ लाखको लागतमा निर्माण सम्पन्न हुने भएको हो ।
खुल्ला ठाउँ तथा बुटवल पावर कम्पनीको कभर्ड हलमा हुँदै आएको ब्याडमिण्टनलाई थप ब्यवस्थित बनाउन ‘डबल कोर्ट’ कभर्ड हल निर्माण थालिएको गल्याङ ब्याडमिण्टन क्लबका अध्यक्ष सुरेश सुबेदीले बताउनुभयो । पछिल्लो समय स्याङ्जाका अधिकांश भागमा ब्याडमिण्टन खेलहरु धेरै हुने गरेका छन् । ब्याडमिण्टनप्रति युवाहरुको आकर्षण बढ्दै जाँदा गल्याङ ब्याडमिण्टन क्लबले ब्यवस्थितरुपमा खेल सञ्चालन गर्न कभर्ड हल निर्माणमा जोड दिएको अध्यक्ष सुबेदीले बताउनुभयो ।
कभर्ड हलको गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराईले शिलान्यास गर्नुभएको हो । खेलकुदको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउनमा सहयोग पुग्ने विश्वास उहाँको छ । यहाँको युवाहरुको आकर्षण ब्याडमिण्टनप्रति बढ्दै जाँदा सुविधा सम्पन्न कभर्ड हलको आवश्यकता महशुस भएकाले बजेट विनियोजन गरी निर्माण थालिएको उहाँले बताउनुभयो । विकास निर्माणका क्रममा पालिका तथा वडासँग समन्वय गर्दै अगाडि बढ्ने उहाँले बताउनुभयो ।
शिलान्यास कार्यक्रममा गल्याङ नगर उपप्रमुख हेमा न्यौपानेले युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नकालागि नगरपालिकाले सोही अनुरुपको नीति तथा कार्यक्रम अगाडि बढाएको उहाँले बताउनुभयो । खेल क्षेत्रको विकास र खेलाडीहरुको क्षमता विकासका कार्यक्रमहरुलाई आगामी दिनमा निरन्तरता दिंदै जाने प्रतिवद्धतासमेत जनाउनुभयो । कार्यक्रममा गरिमा विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्याल, गल्याङ २ का वडा अध्यक्ष अशोक थापा, ३ का अध्यक्ष कृष्ण भट्टराई, क्लबका अध्यक्ष सुरेश सुबेदी, उपाध्यक्ष डोलप्रसाद श्रेष्ठ (ध्रुब) लगायतले आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो ।
कभर्ड हल बनाउन जग्गा प्रदान गर्ने जग्गादाताहरु तथा कभर्ड हल बनाउन सहयोग गर्ने ब्यक्ति तथा संस्थाहरुलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुनेहरुमा गण्डकी प्रदेशसभा सदस्य महेश भट्टराई , गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने, गरिमा विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्याल, गल्याङ २ का वडा अध्यक्ष अशोक थापा, ३ का अध्यक्ष कृष्ण भट्टराई, बुटवल पावर कम्पनी गल्याङका प्रमुख डोल खरेल, समाजसेवी नामदेव भट्टराई, गल्याङ २ का प्राविधिक बुद्धिबल बिक, ३ का प्राविधिक बिष्णु गैह्रे, युवा समाजसेबी रफी खान, जग्गादाता प्रेमराज श्रेष्ठ, गंगाप्रसाद श्रेष्ठ र श्रीमती पूर्णीकला श्रेष्ठ, तेजमान श्रेष्ठ, श्रीप्रसाद श्रेष्ठ (महेन्द्र), लिलाप्रसाद श्रेष्ठ (अमृत) लगायतलाई दोसल्ला सहित सम्मान गरिएको थियो ।