समाचार
चापाकोट नगरपालिकाबाट पनि श्रम स्वीकृति
आँधीखोला खबर
वालिङ, ३० जेठ ।
रोजगारका लागि विदेशमा जानेका लागि चापाकोट नगरपालिकाले श्रम स्वीकृति सेवा सुरु गरेको छ। नगरप्रमुख देवबहादुर खाँणले सोही नगरपालिका–८ का भुवनप्रसाद ढकाललाई आइतबार पहिलो श्रम स्वीकृति सेवा उपलब्ध गराएर सेवा सुरु गर्नुभएको हो ।
वैदेशिक रोजगारमा जाने व्यक्तिका लागि सहज एवं पारदर्शी सेवा प्रवाहका लागि स्थानीय पालिकाबाटै सेवा प्रदान गर्ने उद्देश्य अनुरूप नगरपालिकाले श्रम स्वीकृति एवं पुनः श्रम स्वीकृति प्रदान गर्न थालेको नगरप्रमुख खाँणले बताउनुभयो । यसअघि जिल्लाका अन्य पालिकाहरुले समेत स्थानीय तहबाटै श्रम स्वीकृति दिएका थिए । यसअघि वालिङ नगरपालिका गल्याङ नगरपालिका र भीरकोट नगरपालिकाले समेत पालिकाबाटै बैदेशिक रोजगारमा जानेका लागी श्रम स्वीकृति दिएका हुन् ।
यस अघि श्रम स्वीकृति लिनको लागि वैदेशिक रोजगार विभाग वा प्रदेश स्थित श्रम कार्यालय जानुपर्ने बाध्यता थियो । तर श्रम स्विकृतिका लागि अनलाइन प्रणालीको सुरूवात भए पश्चात् स्थानीय तहबाटै वैशाखबाटै अन्य पालिकामा यो सुविधा प्राप्त हुन थालेको हो ।
श्रम स्वीकृती लिनको लागि राहदानी, एक प्रती पासपोर्ट साईज फोटो, पारिवारिक विवरण, बैंक खाता (चेक प्रती सहित), व्यक्तिगत इमेल आइडी र सम्पर्क मोबाइल नम्बर, रोजगारदाताले दिएको सम्झौता पत्र, भिजाको प्रतिलिपी सहित स्थानीय तहको रोजगार सेवा केन्द्रमा निशुल्क अनलाइन आवेदन दिन सकिन्छ ।