समाचार
नवनिर्मित प्राविधिक तथा प्रयोगशाला भवनको उद्घाटन
आँधीखोला खबर
वालिङ, ३१ जेठ ।
सदरमुकाम पुतलीबजारमा अवस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयका नवनिर्मित प्राविधिक तथा प्रयोगशाला भवनको उद्घाटन भएको छ । भवनको उद्घाटन नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले गर्नुभएको छ । नवनिर्मित भवनको उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री श्रेष्ठले त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा भारतीय दुताबासबाट बसको व्यवस्था गरेपछि टाढाका विद्यार्थीहरु पनि यहाँ पढ्न आएको बताउनुभयो ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश सरकारका पूर्व शिक्षा संस्कृति तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले प्राविधिक तथा व्यावाहारिक शिक्षाले मात्र सीप र स्वरोजगारको बाटो खुल्ने बताउनुभयो । उहाँले शिक्षालाई प्रविधिसँग जोडेर लैजानु पर्ने भन्दै आफ्नो कार्यकालमा शिक्षाको सुधारका लागि सार्थक कामहरु गरिएको बताउनुभयो । कार्यक्रममा प्रधानाध्यापक मुक्तप्रसाद रेग्मीले गोपालमान श्रेष्ठको पहलमा प्राविधिक भवनको बजेट प्राप्त भएको भन्दै श्रेष्ठ प्रति विद्यालय कृतज्ञ भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै पुतलीबजारकी निवर्तमान मेयर सीमाकुमारी क्षेत्रीले विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, स्थानीय तह सबैको एकतामा विद्यालय सुधार भएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विद्यालयका सहायक प्रधानाध्यापक प्रेम पौडेलले गर्नुभएको थियो भने शिक्षक शिव ढकालले धन्यबाद मन्तव्य राख्नुभएको थियो ।
‘एक निर्वाचन क्षेत्र, एक नमुना विद्यालय विकास कार्यक्रम’ अन्तर्गत जिल्लामा ३ वटा मात्र विद्यालय छनोटमा पर्नेमा गोपालमान श्रेष्ठ शिक्षा मन्त्री हुँदा स्याङ्जाले ६ वटा विद्यालयलाई नमुना विद्यालय विकास कार्यक्रममा स्वीकृति प्राप्त गरेको थियो । यसै अन्तर्गत तत्कालीन उपप्रधान तथा शिक्षा मन्त्री श्रेष्ठले यो विद्यालयलाई पनि उक्त नमुना विद्यालय विकास कार्यक्रममा समावेश गर्नुभएको थियो । श्रेष्ठको पहलमा प्राविधिक भवनका लागि रू ९६ लाख र प्रयोगशाला गृहको लागि १ करोड ४९ लाख लागतमा ठेक्का सम्झौता भएको थियो ।