समाचार
अग्नीपीडित पौडेललाई सहयोग
आँधीखोला खबर
वालिङ, ३२ जेठ ।
स्याङ्जाको भीरकोट स्थित बयरघारीमा अग्नि पीडित झरना फोटोका संचालक राजेश पौडेललाई फोटोग्राफर मञ्च स्याङ्जामाले आर्थिक सहयोग गरेका छ्न् ।
फोटोग्राफर मञ्च स्याङ्जामा आवद्ध रहेकाहरुबाट संकलित ४३ हजार ५ सय रूपैयाँ मञ्चका वरिष्ठ उपाध्यक्ष ढाकाराम खनालले बुधबार पौडेललाई हस्तान्तरण गर्नुभउको हो । फोटोग्राफर मञ्च स्याङ्जाका सचिव बाबुराम रेग्मी लागायतका पदाधिकारी र सदस्यहरूले सहयोग रकम घरमै पुगेर हस्तान्तरण गर्नुभएको हो ।
यसअघि भीरकोट उद्योग वाणिज्य संघ, भीरकोट जेसिज, बयरघारी बजारका विभिन्न टोलविकास संस्थाको पहलमा संकलित सहयोग रकम १ लाख ७४ हजार ५ सय ९५ रूपैयाँ मंगलबार भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदीश प्रसाद कोइरालाले अग्नीपीडित पौडेललाई हस्तान्तरण गर्नुभएको थियो । यसैगरी उद्योग वाणिज्य संघले पौडेललाई संस्थागत रूपमा ५५ हजार ५५ रूपैयाँ आर्थिक सहयोग गरेको थियो।
भीरकोट जेसिजका पदाधिकारीहरूले संकलन गरेको २३ हजार २ सय १५ रूपैयाँ संस्थाका अध्यक्ष सुन्दर कोइरालाले पौडेललाई हस्तान्तरण गरेका थिए। बालोदय माध्यमिक विद्यालयले पनि अग्नीपीडित पौडेललाई सहयोग गरेको थियो। विद्यालय परिवारबाट संकलित १० हजार रूपैयाँ विद्यालय संचालक समितिका अध्यक्ष तोयनाथ अर्यालले पौडेललाई प्रदान गर्नुभएको थियो ।
भीरकोट नगरपालिकाले पनि पौडेललाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। सोमबार बसेको बोर्ड बैठकले पौडेललाई एक लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। घरबास पुननिर्माण र व्यवसाय पुनः संचालन गर्न केही राहत होस भनी पालिकाले सहयोग गर्ने निर्णय गरेको र छिट्टै उक्त रकम पौडेललाई प्रदान गरिने नगर प्रवक्ता दिपेन्द्र के.सी.ले जानकारी दिनुभयो । पौडेलले संचालन गर्दै आउनुभएको झरना फोटो स्टुडियोमा जेठ २६गते आगोलागी हुँदा लाखौँको क्षति भएको थियो ।